लोड हुँदैछ...

मेनु

कोशीमा सभामुखसहित राप्रपाका सांसद र जनप्रतिनिधिद्वारा राष्ट्रियसभा निर्वाचन बहिष्कार

कोशीमा सभामुखसहित राप्रपाका सांसद र जनप्रतिनिधिद्वारा राष्ट्रियसभा निर्वाचन बहिष्कार

विराटनगर । राष्ट्रियसभा सदस्य चयनका लागि बिहीबार भएको निर्वाचनमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले मतदान बहिष्कार गर्ने भएका छन्।

पार्टीको केन्द्रीय नीति र निर्णयअनुसार नै आफूहरू निर्वाचन प्रक्रियामा सहभागी नभएको राप्रपाले जनाएको छ। राप्रपाको केन्द्रीय समितिले यसअघि नै राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने र मतदान बहिष्कार गर्ने निर्णय गरेको थियो।

मतदान बहिष्कार गर्नेहरूमा सभामुख विष्टसहित प्रदेशसभा सदस्यहरू गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईं रहेका राप्रपाले जनाएको छ ।

कोशी प्रदेशसभामा राप्रपाबाट ६ जना सांसद निर्वाचित भएका थिए। तर, झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न तत्कालीन प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले पदबाट राजीनामा दिएपछि हाल प्रदेशसभामा राप्रपाका ५ जना मात्र सांसद बहाल रहेका छन्।

प्रदेशसभा सदस्यहरूका साथै राप्रपाबाट निर्वाचित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पनि पार्टीको निर्देशन पालना गर्दै मतदान बहिष्कार गरेका छन्। बहिष्कार गर्ने स्थानीय जनप्रतिनिधिहरूमा दमक नगरपालिकाका मेयर रामकुमार थापा, भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्की र हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन लगायत रहेका छन्।

दमक नगरपालिकाका मेयर एवं राप्रपाका कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले पार्टीको केन्द्रीय नीति बमोजिम नै आफूहरूले मतदान नगरेको स्पष्ट पारेका छन्।

कोशी प्रदेशमा रिक्त रहेका राष्ट्रियसभा सदस्य पदका लागि आज बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो। राप्रपाको यो बहिष्कारसँगै कोशी प्रदेशको निर्वाचनमा केही मत कम खसेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds