विराटनगर । राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट काँग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी बनेका छन् । ३ पदका लागि भएको निर्वाचनमा थापा निर्विरोध बने भने पोर्तेल र मेचेलाई नेकपाका खेम सुन्दास र नमिता न्यौपानेले चुनौति दिएका थिए । तर, काँग्रेस, एमाले र जसपाको गठबन्धन भएको कारण उनीहरुको जित यसअघि नै सुनिश्चित थियो ।
निर्वाचित बनेका थापा काँग्रेस नेता हुन् । उनको प्रतिस्पर्धी नेकपाका उम्मेदवार हेमराज घिमिरे समयमै उपस्थित हुन नसकेपछि निर्विरोध बनेका हुन् । सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुन् । उनी नेपाली कांग्रेस को १४ औं अधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । उनले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सीटबाट विजय हासिल गरेका थिए ।
२०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तरगत विभिन्न देशमा सेवा गरेका छन् । उनी सन् २०११ मा शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०७७ साल कार्तिकमा भने नेपाली कांग्रेस प्रवेश गरी सह–महामन्त्री बनेका थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । थापाको जन्म २०१६ साल वैशाख १ गते धनकुटाको पाख्रिबास मुगामा भएको हो ।
नेकपा (एमाले) ले कोशी प्रदेशबाट दलित कोटाबाट राष्ट्रिय सभाका लागि सोम पोर्तेललाई उम्मेदवार बनाएको थियो । झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच बर्से कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तह राष्ट्रियसभामा पुगेका छन् ।
पाँचथरमा २०३५ साल फागुनमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिवारीका स्थायी बासिन्दा हुन् । उनको राजनीतिक यात्रा २०४७ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो । पार्टीको वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न सांगठनिक जिम्मेवारी कुशलतापूर्वक निभाएका पोर्तेल हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव छन् ।
पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखको भूमिका निर्वाह गरेका थिए । त्यसअघि २०६५ सालमा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर पनि उनले काम गरेका थिए । पोर्तेल राष्ट्रिय सभालाई केवल ‘रिटायर्ड’ नेताहरूको थलो मात्र बनाउनु हुँदैन भन्ने मान्यता राख्छन् । ‘राष्ट्रिय सभालाई अनुभव र युवा जोसको संगम बनाउनुपर्छ, जहाँ प्रभावकारी नीति निर्माण हुन सकोस्,’ उनी भन्छन् । लोकतन्त्रको रक्षा र जनजीविकाको पक्षमा आवाज उठाउनु नै आफ्को मुख्य संकल्प रहेको बताउने पोर्तेल अन्ततः राष्ट्रियसभामा पुगेका छन् ।
नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनमा उठाएको महिला कोटाको अर्को विजयी उम्मेद्वार हुन् झापाकी युवा नेतृ रोशनी मेचे । अल्पसंख्क मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छिन् । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट ओली पदच्यूत भएसँगै उनी पार्टीको गतिविधिमा सिमीत थिइन् ।
२०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् । अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् । उनी हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ को केन्द्रीय सदस्यको रूपमा कार्यरत छिन् ।
राष्ट्रिय सभा देशका सबै जातजाति र अल्पसंख्यकहरूको साझा थलो हुनुपर्ने उनको तर्क छ । ‘अल्पसंख्यक र लोपोन्मुख समुदायको आवाजलाई राज्यको माथिल्लो सदनमा पु¥याउनु मेरो पहिलो प्राथमिकता हो,’ उनी भन्छिन् । पार्टीले आफूलाई योग्य ठानेर दिएको यो जिम्मेवारीले समावेशी लोकतन्त्रलाई थप बलियो बनाउने उनको विश्वास छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।