लोड हुँदैछ...

मेनु

राष्ट्रियसभा निर्वाचन : कोशीमा प्रदेशमा खस्यो ८१ प्रतिशत मत

राष्ट्रियसभा निर्वाचन : कोशीमा प्रदेशमा खस्यो ८१ प्रतिशत मत

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशीमा ८१ प्रतिशत मतदान सकिएको छ । राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २२० जना र प्रदेशसभाका ७१ जनाले मतदान गरिसकेका छन् । कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् ।

कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ । अन्य तर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसकेका छन् । बाँकी दुई पदमा चार जनाको प्रतिस्पर्धा हुँदैछ । काँग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेद्वारी परेको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् । दलित कोटाबाट कोशीबाट माओवादीका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाकी इन्दु गौतमको कार्यकाल सकिने भएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।

कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता भएपनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ जना पालिका प्रमुख, २ जना पालिका अध्यक्ष, १ जना पालिका उपाध्यक्ष र १ जना प्रदेश सांसदले राजीनामा दिएर प्रतिनिधिसभाका उम्मेद्वार बनेका छन् । राजीनामा दिनेमा राप्रपाका प्रदेश सांसद भक्तिप्रसाद सिटौला झापा–४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बनेका छन् । रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया एमालेबाट मोरङ–२ बाट उम्मेद्वारी दिँदा ओखलढुंगा निर्वाचन क्षेत्रमा एमालेबाट लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा उम्मेद्वार बनेकी छिन् ।

नेकपाले इलाम २ बाट सूर्योदयन गरपालिकाका रणबहादुर राई र सोलुखुम्बुबाट असिम राईलाई उम्मेद्वार बनाएको छ । यस्तै उदयपुर लिम्चिङबुङका अध्यक्ष मेजर राई उदयपुर क्षेत्र नम्बर १ बाट स्वतज्त्र उम्मेद्वार बनेका छन् । यस्तै सुनसरी धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पनि राजीनामा दिएर प्रतिनिधिसभाका उम्मेद्वार बनेका छन् । उनीहरुको राजीनामासँगै कोशीमा ९२ जना प्रदेशसभा सदस्य कायम छन् भने स्थानीय तहका २६७ प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष कायम भएका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । पालिकाका प्रतिनिधिको मतभार १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds