लोड हुँदैछ...

मेनु

केपी ओलीसँग सार्वजनिक डिबेट गर्ने बालेनद्वारा अस्वीकार

केपी ओलीसँग सार्वजनिक डिबेट गर्ने बालेनद्वारा अस्वीकार

विराटनगर। निर्वाचनको माहोल चर्किँदै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ अर्थात् सार्वजनिक बहस हुनुपर्ने विषयले नेपाली राजनीति थप गर्माएको छ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि आफू तयार रहेको घोषणा गरेपछि झापा–५ बाट उनीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भने ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्।

अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै पारदर्शी बहस आवश्यक भएको बताएका थिए। सामाजिक सञ्जालमा फैलाइने प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेको भन्दै उनले देशको नेतृत्व गर्न खोज्ने दलका एजेन्डा, विगतमा गरेका काम र भविष्यको रोडम्यापबारे जनतासामु आमनेसामने बहस हुनुपर्ने धारणा राखेका हुन्। ओलीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै दल र नेताहरूलाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष प्रश्न–उत्तरको वातावरण बनाउन आयोजकहरूलाई आग्रहसमेत गरेका छन्।

ओलीको यो प्रस्तावलाई चुनावी राजनीतिमा पारदर्शिता र वैचारिक प्रतिस्पर्धाको संकेतका रूपमा हेरिएको भए पनि बालेन शाहको कडा प्रतिक्रियाले बहसले फरक मोड लिएको छ। ओलीको स्टाटसमा टिप्पणी गर्दै बालेनले आफू यस्तो सार्वजनिक बहसमा सहभागी नहुने स्पष्ट पारे। उनले ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ’ भन्ने अभिव्यक्ति दिँदै ओलीसँगको बहस बहिष्कार गर्ने घोषणा गरेका हुन्।

बालेनले थप रूपमा विगतका घटनालाई स्मरण गराउँदै ती घटनाको जिम्मेवारी नस्वीकारेसम्म कुनै बहस सम्भव नहुने संकेत गरेका छन्। उनको अभिव्यक्तिलाई एमाले नेतृत्वमाथिको कडा राजनीतिक आरोपका रूपमा लिइएको छ भने समर्थकहरूका बीचमा यसले तीव्र बहस र प्रतिक्रिया जन्माएको छ।

ओलीको बहस प्रस्ताव र बालेनको अस्वीकारसँगै निर्वाचनअघि सार्वजनिक बहस हुने–नहुने विषय मात्र होइन, राजनीतिक नैतिकता, जवाफदेहिता र विगतका घटनाको उत्तरदायित्वबारे पनि नयाँ बहस सुरु भएको छ। यसले आगामी दिनमा चुनावी माहोललाई अझै तातो बनाउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।