लोड हुँदैछ...

मेनु

निर्वाचन एजेन्डामा ‘पब्लिक डिबेट’ गर्न केपी ओली तयार, प्रधानमन्त्रीका दाबेदारहरूलाई दिए चुनौती

निर्वाचन एजेन्डामा ‘पब्लिक डिबेट’ गर्न केपी ओली तयार, प्रधानमन्त्रीका दाबेदारहरूलाई दिए चुनौती

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका एजेन्डा र देश निर्माणको योजनाका विषयमा ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) का लागि आफू तयार रहेको बताएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् । नयाँ र पुराना सबै दलहरू अहिले चुनावमा होमिएको उल्लेख गर्दै अध्यक्ष ओलीले देश बनाउने र देश जलाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा एमाले देश बनाउने पक्षबाट मैदानमा रहेको दाबी गरेका छन् । पछिल्लो समय बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच पारदर्शी बहसको माग भइरहेको सन्दर्भमा उनले आफू त्यसका लागि तयार रहेको स्पष्ट पारेका हुन् ।

सामाजिक सञ्जालमा ‘फ्रेमिङ’ गरेर ल्याइएका प्रचार सामग्रीले मतदातालाई वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको ओलीको भनाइ छ । शनिबार च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा पनि उनले सार्वजनिक बहसका लागि आफू नभाग्ने बताएका थिए । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले औपचारिक रूपमा ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि नसारे पनि उनले आफूलाई नेतृत्वका रूपमा प्रस्तुत गर्न थालेका छन् ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेसका गगन थापा, काठमाडौँका मेयर बालेन शाह, हर्क साम्पाङ, र कुलमान घिसिङ लगायतलाई पनि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएकाले ओलीले सबै पक्षलाई आमने(सामने बहसमा आउन आग्रह गरेका छन् । नेतृत्व गर्न खोज्ने दलहरूको एजेन्डा, यसअघि गरेका काम र अबको रोडम्यापका विषयमा जनतामाझ स्पष्ट हुनुपर्ने उनको तर्क छ । ओलीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना योजना राख्ने प्रतिबद्धता जनाउँदै त्यस्तो बहस आयोजना गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds