लोड हुँदैछ...

मेनु

सक्रिय चिकित्सकको सुझाव

भावनाले होइन विवेकले मत हालौँ

भावनाले होइन विवेकले मत हालौँ

अहिले बालेन प्रधानमन्त्री बन्नु पर्छ भन्ने चाहना धेरैको मनमा छ। पुराना अनुहार, पुरानो शैली, पुरानो नतिजा, र त्यससँगै जन्मिएको कुशासन र भ्रष्टाचारबाट समाज आजित भइसकेको छ। नेताहरूको दम्भ, जीवनशैली र जनताप्रति देखिएको उदासीनताले जनताको धैर्यको सीमा नाघिसकेको छ। त्यसैले जेन्जी आन्दोलन भयो । यो स्वाभाविक थियो । त्यो आवेग होइन, लामो असन्तोषको परिणाम थियो । र, नसच्चिए फेरि नहोला भन्न सकिदैन ।

यही पृष्ठभूमिमा बालेन आज एउटा आशा बनेका छन्, नागरिकको भरोसा बनेका छन् । त्यसैले उनलाई प्रधानमन्त्रीका रूपमा देख्ने चाहना राख्नु अस्वाभाविक होइन । उनलाई भोट दिन्छु भन्नु पनि गलत होइन। तर लोकतन्त्र चाहनाले होइन, प्रक्रियाले चल्छ।

प्रधानमन्त्री बन्नका लागि संसदीय चुनाव जित्नै पर्छ । बालेनका लागि त्यो निर्वाचन क्षेत्र झापा–५ हो । उहाँ प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवार हुनुहुन्छ, समानुपातिक होइन । मेरो भोट झापा–५ मा छैन भने, मैले आफ्नो निर्वाचन क्षेत्रमा घण्टीमा भोट हाल्दैमा बालेनको जित सुनिश्चित हुँदैन, र प्रधानमन्त्री पनि बन्नुहुन्न । यो भावनात्मक सत्य होइन, संवैधानिक यथार्थ हो ।

अब अर्को पक्ष छ, सरकार बनाउन बहुमत चाहिन्छ । तर त्यो बहुमत चिन्हले होइन, मानिसले बनाउँछ । के केवल “बालेन प्रधानमन्त्री बनाउने” नाममा हामीले पद र पावरका महत्त्वाकाङ्क्षीहरूलाई, अवसर देखेर देश छोड्ने र फर्किने अवसरवादिहरूलाई, वा पृष्ठभूमि नै नचिनेका ऐरे–गैरेहरूलाई मत दिनु उपयुक्त हुन्छ ? हिजो हाम्रा पुर्खाले उम्मेदवार नहेरी दल र पार्टीको नाममा भोट दिएर जुन गल्ती गरे, आज हामी पनि उम्मेदवार नबुझी, लहलहैमा उही गल्ती दोहोर्‍याउनु ठीक हुन्छ ?

पुरानालाई देख्यौ पटक–पटक । त्यसैले “यस पटक अवसर नयाँलाई ” भन्ने भावना स्वाभाविक हो । तर नयाँ हुनु नै सधैं असल हुनु होइन, र पुरानो हुनु नै सधैं खराब हुनु पनि होइन । सत्य के हो भने— सबै दलभित्र राम्रा पनि छन्, नराम्रा पनि छन् । यदि बालेनको सपना साकार पार्ने हो भने हामीले नयाँ झण्डा होइन, असल मान्छे छान्नु पर्छ। जुन दलमा भए पनि, जुन चिन्हमा भए पनि, इमान्दार, जिम्मेवार, समाजसँग जोडिएको व्यक्ति रोज्नुपर्छ ।

यदि गलत मानिस छानेर बनाइएको बहुमतले सरकार बनायो भने त्यो सरकारले बालेनको सपना पूरा गर्ने माध्यम बन्दैन । फेरि अर्को निराशाको सुरुवात मात्र हुन्छ।

त्यसैले यस पटक मत भावनाले होइन विवेकले हालौँ । नयाँलाई होइन असललाई अवसर दिऔँ । त्यही नै बालेनको प्रसङ्गमा पनि सबैभन्दा यथार्थ, जिम्मेवार र दीर्घकालीन बाटो हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।