धरान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वारलाई विजयी गराउने उद्देश्यसहित ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
संविधानसभा सदस्य किरण राईको संयोजकत्वमा गठित समितिमार्फत नेकपा चुनावी मैदानमा होमिएको हो ।
सुनसरी–१ मा नेकपाबाट सूर्यबहादुर भट्टराई (मनोज) नेकपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् । धरान वडा नं. १७ बाट दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भट्टराईले पदबाट राजीनामा दिएर उम्मेद्वारी दिएका हुन् ।
शुक्रबार धरान–१२ स्थित होटल गोर्खामा आयोजित कार्यक्रममा पार्टीले समिति घोषणा गरेको हो । समितिको सदस्य सचिवमा जीवन राई रहेका छन् । प्रचारप्रसार समिति संयोजक चोत्लुङका अनुसार केन्द्रीय सदस्य, सुनसरी–१ अन्तर्गतका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरू समेटेर निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
समितिअन्तर्गत विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । अनुगमन समिति संयोजकमा मुक्साहाङ मेन्याङ्बो (मुकेश), युवा परिचालन संयोजकमा चिन्तन भुजेल, महिला परिचालन संयोजकमा उमिता बराईली र आर्थिक संयोजकमा उद्धव लिम्बू रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार भट्टराईले धरानलाई सीमित जाति, धर्म र समुदायमा बाँध्ने प्रयासको विरोध गर्दै सबै धराने जनताको सहभागितामा अराजकताविरुद्धको लडाइँ आवश्यक रहेको बताए । उनले फागुन २१ मा तारा चिन्हमा मतदान गर्न जनतामा उत्साह रहेको दाबी गरे । धरान पूर्वी पहाडी जिल्लाको केन्द्र र आशाको केन्द्र भएको उल्लेख गर्दै उनले धरान सबै नागरिकको साझा शहर भएको बताए ।
सुनसरी–१ मा भट्टराईसँगै श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा धरानका निवर्तमान मेयर हर्कराज राई, एमालेका टिकाराम माङ्लेन, कांग्रेसका सुजेन्द्र तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ, राप्रपाबाट उद्धव श्रेष्ठ र नेमकिपाबाट महेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।