विराटनगर । काठमाडौंको प्रमुख पदबाट राजीनामा दिएर सोझै मधेश प्रदेशको राजधानी जकपुरको सभामा सहभागी भएका बालेन त्यसको ७ दिनपछि संघीय राजधानी काठमाडौं फर्किएका छन् । जनकपुरमा सभा गरेर उनले मेधश प्रदेशमा केही भेटघाटका कार्यक्रमहरु गरे । त्यसपछि भने उनले आफ्नो ध्यान कोशी प्रदेशमा केन्द्रीत गरे ।
माघ ५ गते साँझ कोशी प्रदेश प्रवेश गरेका उनी उक्त दिन उर्लाबारी ७ पशुपति मार्गमा रहेको आफ्नो ससुरालीमा बास बसे । त्यसको भोलिपल्ट बिहान केही भेटघाट गरेर उनी झापा निर्वाचन क्षेत्र ५ मा उम्मेद्वारी दिन पुगे । उक्त दिन उनले उम्मेद्वारी दिएर समर्थकहरुलाई भेटघाट गर्दै दमकमै बसेका थिए ।
भोलिपल्ट उनले आफ्नो निर्वाचन क्षेत्रका मात्रै होइन झापा, सुनसरी र मोरङका ३ हजार बढी समर्थक र शुभचिन्तकलाई आफू बसेकै स्थानमा दमक–५ स्थित लक्कि सिटौलाको घरमा भेटघाट गरे । त्यसपछि साँझ ४ बजे इलाम उक्लिएका उनी इलाम सदरमुकाममा बास बसे र समर्थकहरुलाई भेटे । भोलिपल्ट माघ ८ गते ताप्लेजुङको सदरमुकाम फिदिम पुगेका उनले आफ्ना समर्थक र शुभचिन्तकहरूलाई भेटघाट गरेर पाथीभरा मन्दिरको दर्शनका लागि त्यसतर्फ प्रस्थान गरे । सो दिन माथिल्लो फेदीमा बास बसेका बालेन भोलीपल्ट ९ गते पाँचथर हुँदै तेह्रथुम लागे ।
तेह्रथुममा पनि समर्थकहरुसँग भेटघाट गर्दै बालेन शाह शनिबार (१० गते) संखुवासभा पुगेका थिए । अन्य जिल्लामा औपचारिक रुपमा सामान्य कार्यक्रममा व्यक्तिगत कुराकानी गरेको भएपनि सामूहिक मन्तव्य नराखेका बालेनका तेह्रथुम र संखुवासभाका उम्मेद्वारसँगै राखेर सामान्य कार्यक्रम भएको थियो । शनिबार बिहान संखुवासभाको कार्यक्रम सकेर बालेन शाह धनकुटा आइपुगेका थिए । धनकुटाको भीमनारायण चोकबाट पैदल हिँड्दै मदन चोकसम्म मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय भएपनि उनी धनकुटा सदरमुकाम सवारीबाटै परिक्रमा गर्दै फर्केका थिए ।
त्यसपछि उनले सुनसरीको इटहरीमा समर्थकलाई गाडीबाटै हाइहेल्लो गरे । साँझ विराटनगर आइपुगेका उनले आफ्ना समर्थक र केही उम्मेद्वारसँग भलाकुसारी गरे । त्यससँगै आजै साँझ उनी विराटनगरबाट काठमाडौं लागेका छन् । विराटनगरबाट काठमाडौं जाने ५ बजेको टिकट भएपनि उनको प्लेन १ घण्टा डिले भएको थियो । त्यतिन्जेल उनी एयरपोर्ट रोडमा रहेको होटल पर्पल हेजमा बसेका थिए । उनी त्यहाँ बसेको थाहा पाएपछि ठूलो संख्यामा समर्थकको भीड जम्मा भएको थियो । यद्यपि बालेन साहले गाडीबाटै उनीहरुलाई हाइहेल्लो गरेर विमानस्थल प्रवेश गरेका थिए ।
बालेनको कोशी प्रदेश भ्रमणले समर्थकहरु बढेको सो पार्टीका नेताहरु बताउँछन् । ताप्लेजुङका रास्वपाका उम्मेद्वार वीरेन्द्र श्रेष्ठले बालेन साहको आगमनले रास्वपाका समर्थक बढेबो बताए । ‘उहाँ आएपछि पार्टी प्रवेश गर्नेहरु बढेका छन्,’ उनले भने, ‘हाम्रो पक्षमा माहोल बनेको छ ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।