विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी विस्तार बढ्न थालेको छ । मनोनयन दर्तासँगै मुख्य राजनीतिक दलका उम्मेदवारहरू आन्तरिक रणनीति र घरदैलोको प्रारम्भिक तयारीमा जुटेका छन् । यसपटकको निर्वाचनमा पुरानो विरासत जोगाउने दाउमा रहेका नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका विनोद ढकालबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।
१७ वर्षपछिको रोचक भिडन्त
यस क्षेत्रमा निर्वाचनको सबैभन्दा रोचक पक्ष डा. शेखर कोइराला र विनोद ढकालबीचको पुनप्र्रतिस्पर्धा हो । यसअघि २०६४ सालको संविधान सभा निर्वाचनमा यी दुई नेताबीच यही क्षेत्रमा प्रतिस्पर्धा भएको थियो, त्यस निर्वाचनमा कोइराला निर्वाचित हुनुभएको थियो । ठिक १७ वर्षपछि एमालेले पुनः ढकाललाई कोइरालाविरुद्ध मैदानमा उतारेको छ । २०६४ यता भएका पाँचवटा निर्वाचनमा लगातार उम्मेदवार बन्नुभएका कोइरालाले तीन पटक जित हासिल गरिसक्नुभएको छ । गत २०७९ को निर्वाचनमा उहाँले एमालेका लालबाबु पण्डितलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो ।
आन्तरिक तयारीमा डा. शेखर
मनोनयनपछि डा. शेखर कोइरालाको समूहले पहिलो चरणको आन्तरिक तयारी सम्पन्न गरेको छ । कोइरालाले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकाका वडा तथा क्षेत्र स्तरका नेताहरूसँग छलफललाई तीब्र बनाइरहेका छन् । उनका सचिवालयका अनुसार हालसम्म तीनवटै युनिटका पदाधिकारीहरूसँग छुट्टाछुट्टै बैठक, बौद्धिक समुदाय (प्राध्यापक, चिकित्सक, कानुन व्यवसायी) सँग अन्तक्र्रिया र कुनै पनि दलमा आबद्ध नभएका लोकतन्त्रवादी युवा विद्यार्थीहरूसँग छलफल गरिसकिएको छ । पछिल्लो समय बढ्दो ‘स्वतन्त्र’ लहरलाई चिर्न कोइरालाले युवा र बौद्धिक वर्गलाई केन्द्रित गरेर रणनीति बनाएको देखिन्छ ।
एमाले र नेकपाको तयारी
नेकपा एमालेले यसपटक पूर्वमन्त्री लालबाबु पण्डितलाई निर्वाचन कमाण्डर तोकेर विनोद ढकाललाई जिताउने अभियान सुरु गरेको छ । एमालेले टोलस्तरसम्मै परिचालन कमिटी गठन गरिरहेको छ । शनिबार मात्र निर्वाचन क्षेत्रीय कमिटीको बैठक बसेर तयार अगाडि बढाएको जिल्ला उपाध्यक्ष सागर थापाले जानकारी दिए ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्रकुमार रायले १००१ सदस्यीय ठूलो परिचालन कमिटी बनाएर मजदुर र किसानको मत तान्ने प्रयास गरिरहेका छन् । उनले मजदुरहरुको भेला, तीन वटै पालीकाका पार्टी नेतृतवहरुको भेला गरेर चुनावी तयारीलाई अगाडि बढाइसकेका छन् ।
यता प्रतिस्पर्धी शक्तिको रुपमा अगाडि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य पनि युवा मतदातामाझ एजेन्डासहित पुग्ने तयारीमा छन् । अहिले भने जभेटघाटलाई नै अगाडि बढाइरहेको उक्त पार्टीका नेता भरत दाहालले जानकारी दिए ।
यस्तो छ चुनावी भूगोल
मोरङ क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाका ७ वटा वडा (४, ५, ६, ७, ९, ११ र १२), बुढीगंगा गाउँपालिकाका ७ वटा वडा र सुन्दरहरैंचा नगरपालिकाका ६ वटा वडा (२, ३, ४, ५, ६ र ७) गरी कुल २० वटा वडाहरू पर्दछन् । यस क्षेत्रमा कुल मतदाताको संख्या करिब १ लाख ३८ हजार रहेको छ ।
मुख्य गरी कांग्रेसको पुरानो गढ र एमालेको सांगठनिक सञ्जालबीचको लडाइँमा यसपटक रास्वपा र कम्युनिष्ट पार्टीका उम्मेदवाहरुको भूमिका र उनीहरुले प्राप्त गर्ने मतका आधारमा हारजितको फैसला गर्ने देखिन्छ । डा. कोइराला राष्ट्रिय कदको नेता भएकाले आफ्नो शाख जोगाउने दबाबमा छन् भने ढकाल १७ वर्षअघिको हारको बदला लिने दाउमा छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।