लोड हुँदैछ...

मेनु

राष्ट्रियसभा निर्वाचन : मतदानका लागि जनप्रतिधिहरू विराटनगर केन्द्रीत

राष्ट्रियसभा निर्वाचन : मतदानका लागि जनप्रतिधिहरू विराटनगर केन्द्रीत

विराटनगर । माघ ११ गते (आइतबार) हुने राष्ट्रियसभा निर्वाचनका लागि पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष तथा प्रदेशका सांसदहरु विराटनगर केन्द्रीत भएका छन् । कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ । अन्य तर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसकेका छन् । बाँकी दुई पदमा चार जनाको प्रतिस्पर्धा हुँदैछ ।

काँग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेद्वारी परेको छ । उम्मेदवारी दिएका नेताहरू आफ्ना एजेन्डासहित मतदाता (प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख) कहाँ पुगेका छन् । काँग्रेस–एमाले र जसपाको मतभार दुई तिहाई बढी भएकोले उनका उम्मेद्वारले नै जित्नेमा शंका छैन । तर, उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारले चुनौति दिँदैछन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् । दलित कोटाबाट कोशीबाट माओवादीका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाकी इन्दु गौतमको कार्यकाल सकिने भएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।

कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता भएपनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि २ जना पालिका प्रमुख, २ जना पालिका अध्यक्ष, १ जना पालिका उपाध्यक्ष र १ जना प्रदेश सांसदले राजीनामा दिएर प्रतिनिधिसभाका उम्मेद्वार बनेका छन् ।

जसमा राप्रपाका प्रदेश सांसद भक्तिप्रसाद सिटौला झापा–४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बनेका छन् । रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया एमालेबाट मोरङ–२ बाट उम्मेद्वारी दिँदा ओखलढुंगा निर्वाचन क्षेत्रमा एमालेबाट लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा उम्मेद्वार बनेकी छिन् ।

नेकपाले इलाम २ बाट सूर्योदयन गरपालिकाका रणबहादुर राई र सोलुखुम्बुबाट असिम राईलाई उम्मेद्वार बनाएको छ । यस्तै उदयपुर लिम्चिङबुङका अध्यक्ष मेजर राई उदयपुर क्षेत्र नम्बर १ बाट स्वतज्त्र उम्मेद्वार बनेका छन् ।

उनीहरुको राजीनामासँगै कोशीमा ९२ जना प्रदेशसभा सदस्य कायम छन् भने स्थानीय तहका २६९ प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष कायम भएका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । पालिकाका प्रतिनिधिको मतभार १९ रहेको छ । प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार १७२, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्र्रको १ हजार २५९, राप्रपाको ३४१, नेकपा एसको ३२६, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds