लोड हुँदैछ...

मेनु

गाडी विवादपछि बालेन शाहलाई प्रहरीको स्कर्टिङ

गाडी विवादपछि बालेन शाहलाई प्रहरीको स्कर्टिङ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र (बालेन) शाहको सुरक्षामा प्रहरीले कडाइ गरेको छ ।

चुनावी अभियानका क्रममा पूर्वी पहाडी जिल्लाको दौडाहामा रहेका शाहलाई आज साँझ तेह्रथुमको आठराईबाट प्रहरीले स्कर्टिङ गरेर सदरमुकाम म्याङलुङसम्म ल्याएको हो ।

शाहले प्रयोग गरिरहेको महँगो विलासी गाडीको विषयमा सामाजिक सञ्जालमा प्रश्न उठेपछि र सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा घेरा बढाएको बुझिएको छ । माघ ६ गते झापामा मनोनयन दर्ता गरेपछि शाह पाँचथर, इलाम र ताप्लेजुङको भ्रमण सकेर आज तेह्रथुम आइपुगेका हुन् ।

केही दिनदेखि बालेनले चढिरहेको कालो रङको ‘ल्यान्ड रोभर डिफेन्डर’ गाडीको विषयमा सामाजिक सञ्जालमा ठूलो बहस भइरहेको छ । धेरैले उक्त गाडीको स्रोतमाथि प्रश्न उठाएपछि प्रहरीले सुरक्षा बढाएको हो ।

यातायात व्यवस्था कार्यालयका अनुसार उक्त गाडी रुपन्देहीको तिलोत्तमास्थित ‘करेन्ट मसला’ र ‘करेन्ट चाउचाउ’ उत्पादन गर्ने त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ । उक्त उद्योगका लगानीकर्ता एवं प्रख्यात उद्योगी कमल मालपानीले आफूहरूले नै बालेनलाई चुनावी प्रचारका लागि उक्त गाडी उपलब्ध गराएको पुष्टि गरेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले निर्वाचनका बेला सबै उम्मेदवारलाई सुरक्षा थ्रेट रहने भएकाले शाहलाई सुरक्षा दिइएको बताए । ‘भोलि केही अप्रिय घटना भयो भने सुरक्षा निकायमाथि प्रश्न उठ्छ, त्यसैले आवश्यकता अनुसार सुरक्षा दिनुपर्छ,’ डिआइजी घिमिरेले भने, ‘थ्रेट नभए पनि कतै केही भइहाल्यो भने बर्बाद हुन्छ, त्यसैले सुरक्षाकर्मीलाई एकछिन पनि एब्सेन्ट नहुन निर्देशन दिएको छु ।’

विशेष गरी पहाडी जिल्लाहरूमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको तर्फबाट विरोध वा ‘थ्रेट’ हुनसक्ने सुरक्षा निकायको आँकलन छ । यता, तेह्रथुमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्दना राईले उम्मेदवारको तर्फबाट सुरक्षा माग गरिएकाले सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिइन् ।

मनोनयन दर्तापछि चुनावी माहोल तताउन व्यस्त रहेका शाहको साथमा यतिबेला सादा पोसाक र बर्दीका प्रहरीहरू परिचालन गरिएको छ । यसअघि जनकपुर भ्रमणका क्रममा पनि उनी सोही विलासी गाडीमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।