विराटनगर । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा लगभग ५ सय जनाले उम्मेद्वारी दिएका छन् । त्यसमध्ये १३ जना उम्मेद्वार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी उम्मेद्वार हु्न् । उनीहरु पुनः आफ्नो जित निश्चित गर्न चाहन्छन् । जसमध्ये ६ जना लगातार दुई पटक वा सो भन्दा बढी निर्वाचन जित्नेहरु छन् । झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली ७०, ७४ र ७९ सालको निर्वाचनमा विजयी बन्दै आएका छन् ।
यस्तै झापा ४ का एमालेका उम्मेद्वार एलपी सावा, झापा ३ का राप्रपा उम्मेद्वार राजेन्द्र लिङ्देन, मोरङ ४ का नेकपाका उम्मेद्वार अमनलाल मोदी, सुनसरी ४ का काँग्रेस उम्मेद्वार ज्ञानेन्द्र कार्की र एमाले धनकुटाका राजेन्द्र राई ह्याट्रिक गर्ने दाउमा छन् । उनीहरुले यसअघिको ७४ र ७९ को निर्वाचन लगातार जितेका थिए ।
इलाम–१ बाट गएको निर्वाचनमा विजयी सुहाङ नेम्वाङ बिरासत जोगाउने दाउमा छन् । उनलाई काँग्रेसका भेषराज आचार्य, नेकपाका ओमबहादुर गुरुङ र रास्वपाका गोकुल राईले चुनौति दिँदैछन् ।
यस्तै झापा २ बाट यसअघि विजयी एमालेका देवराज घिमिरे पनि जितको खोजीमा छन् । उनी पूर्वसभामुख पनि हुन् । घिमिरेलाई रास्वपाकी इन्दिरा रानाले चुनौति दिँदैछिन् । राना पूर्व उपसभामुख हुन् । यस्तै सोही क्षेत्रबाट काँग्रेसकी सरिता प्रसाई, नेकपाका धर्मशीला चापागाई र राप्रपाबाट स्वागत नेपालले उनलाई चुनौति दिँदैछन् ।
यस्तै झापा ३ बाट यसअघि विजयी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ह्याट्रिक गर्ने दाउमा छन् । २०७४ र २०७९ सालमा यही क्षेत्रबाट विजयी बनेका लिङ्देनलाई एमालेका हरि राजवंशी, रास्वपाका प्रकाश पाठक, नेकपाका डिल्ली घिमिरे तथा काँग्रेसका राजेन्द्र घिमिरेले चुनौति दिँदैछन् ।
झापा ४ मा पनि यसअघिका विजेता एमालेका एलपी सावा आफ्नो बिरासत कायम गर्दै ह्याट्रिक गर्ने दाउमा छन् । यद्यपि उनलाई नेकपाका पुरुषोत्तम चुँडाल, काँग्रेसका देउमान थेबे, रास्वपाका शम्भुप्रसाद ढकाल र राप्रपाका भक्तिप्रसाद सिटौलाले चुनौति दिँदैछन् ।
यस्तै झापा क्षेत्र नम्बर ५ मा ४८ सालयता निरन्तर लड्दै आएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली फराकिलो मत अन्तरले विजयी हुँदै आएका थिए । ६४ सालबाहेक सबै निर्वाचनमा सानदार विजयी बनेका उनलाई यस पटक रास्वपाका बालेन शाहले कडा टक्कर दिँदैछन् । यस्तै नेकपाका रञ्जित तामाङ, काँग्रेसकी मन्दरा चिमरिया र राप्रपाका लक्ष्मी संग्रौलाले पनि ओलीलाई चुनौति दिँदैछन् ।
मोरङको क्षेत्र नम्बर ३ मा काँग्रेसबाट गएको निर्वाचनमा विजयी सुनिल शर्मा यस पटक पनि जित्न चाहन्छन् । यद्यपि उनलाई रास्वपाका नेता गणेश कार्कीले कडा चुनौति दिने अनुमान गरिएको छ । यो क्षेत्रबाट शर्मालाई एमालेका इरन राई, नेकपाका देउमान सम्बाहाम्फेले पनि चुनौति दिँदैछन् ।
मोरङको क्षेत्र नम्बर ४ मा तत्कालिन माओवादीबाट दुई पटक जितेका अमनलाल मोदी यस पटक जितेर ह्याट्रिक गर्ने दाउमा छन् । उनलाई एमालेका जीवन घिमिरे, काँग्रेसका गुरुराज घिमिरेले कडा टक्कर दिँदैछन् । यहाँबाट रास्वपाका सन्तोष राजवंशीपनि मोदीसँग प्रतिस्पर्धामा छन् ।
मोरङ क्षेत्र नम्बर ५ मा यसअघि विजयी बनेका योगी मण्डल यो पटक पनि जित्न चाहन्छन् । २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेर विजयी बनेका उनी यस पटक आफैं राष्ट्रिय उर्जाशील पार्टी खोलेर चुनावी मैदानमा छन् । मण्डललाई नेकपाका शिवकुमार मण्डल, जसपाका राजकुमार यादव, एमालेका मनोज अग्रवाल र काँग्रेसका फूलकुमार लालवानीले पनि चुनौति दिँदैछन् ।
यस्तै मोरङको क्षेत्र नम्बर ६ बाट जितेर पुनः संसदमा जाने चाहनामा छन् काँग्रेस नेता डाक्टर शेखर कोइराला । उनलाई यस पटक एमालेका विनोद ढकालले कडा टक्कर दिँदैछन् । सो क्षेत्रबाट नेकपाका ओपेन्द्र राय र रास्वपाकी रुविना आचार्यले पनि चुनौति दिँदैछन् ।
यस्तै सुनसरी ३ बाट यसअघि विजयी बनेकी एमालेकी भगवती चौधरी यस पटक पनि आफ्नो बिरासत कायम गर्न चाहन्छिन् । तर, उनलाई काँग्रेसका नेता विजयकुमार गच्छदार पराजित गर्न चाहन्छन् । गच्छदारले यो निर्वाचन आफ्नो अन्तिम पटक हुने बताउँदै चुनावी मैदानमा छन् । यसका साथै सो क्षेत्रबाट रास्वपाका अशोक चौधरी, नेकपाका दुर्गेश चौधरीले पनि चौधरीलाई चुनौति दिँदैछन् ।
सुनसरीको क्षेत्र नम्बर ४ बाट यसअघि दुई पटक विजयी बनेका काँग्रेस नेता ज्ञानेन्द्र कार्की यस पटक जितेर ह्याट्रिक गर्ने दाउमा छन् । उनलाई एमालेका जगदिश कुसियैतले कडा टक्कर दिँदैछन् । सो क्षेत्रबाट नेकपाका महमद महफुज अन्सारीले पनि चुनौति दिँदैछन् ।
यस्तै धनकुटाबाट यस पटक जितेर ह्याट्रिक हान्ने दाउमा छन् एमालेका राजेन्द्र राई । पूर्वमन्त्रीसमेत रहेका राई २०७४ र २०७९ सालमा विजयी बनेका थिए । उनलाई यस पटक काँग्रेसका दिनेश राई र नेकपाका धर्मप्रसाद पौडेलले चुनौति दिँदैछन् । यहाँ राप्रपाबाट विभत्सु थापा र रास्वपाबाट दिनेश भण्डारी उम्मेद्वार बनेका छन् ।
यस्तै उदयपुर २ बाट यसअघि विजयी एमालेका अमर रायमाझी यस पटक पनि आफ्नो विरासद जोगाउन चाहन्छन् । उनलाई काँग्रेसका रामकुमार राई, नेकपाका सुरेशकुमार राई र रास्वपाका सूर्यबहादुर तामाङले चुनौति दिँदैछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।