अजम्बरहरुले लडेर ल्याएको राजनिती गर्न सजिलो व्यवस्थामा ऐरे गैरे जो पनि राजनीतिमा आएका छन् । तर राजा र पञ्चायत बिरोधमा लेख्दा बोल्दा मात्र होइन चरीको स्वन्त्रताको गीत, कविता लेख्दासमेत जेल र यातना भोग्नु पर्ने, दाह्री पालेर हिंड्दासमेत, शासकले नचिनेको पाहुना घरमा आउदा समेत शङ्का गरेर प्रहरी कष्टडीमा जाकिनुपर्ने कठिन र कहालीलाग्दो पन्चायतकालीन समयमा राजा र पन्चायत विरोधी राजनितिमा, जनता र देशको मुहार फेर्ने राजनीतिमा लाग्ने युवाहरु, मानिसहरू दुर्लभ जस्तै थिए । भोजपुरका तिनै दुई चार थानमध्ये अजम्बर काङमाङ एकजना थिए । अजम्बर काङमाङ त्यो बेलाका जननेता मदन भण्डारी थिए । जसको भाषण सुन्न विचार नमिल्नेहरु पनि आउँथे । शासकको डर मान्नेहरु पनि आउँथे । त्यही कारणले उहाँ पञ्चायतको हमेशा पहिलो निशाना र निगरानीमा हुनुहुन्थ्यो । यद्यपि जिल्लामा उहाँ भन्दा ठूला नेताहरू थिए । धेरैले उहाँलाई आदर्श मानेका थिए ।
त्यही पञ्चायतकालीन विद्यार्थी जीवनदेखि आगोको फिलिङ्गो जस्तो देखेको अजम्बर अहिलेको अधवैशें वयसम्म पनि कहिले मलीन, मधुरो देखेको छैन, अनेक उतारचढाव, हन्डर ठक्कर, हुरीबतासलाई सामना गरेर पनि उस्तै भरभराउँदो आगो, जोस, जाँगरका साथ देश र जनताको लागि सधै कृयाशील । यसो भन्नु किमार्थ बढी हुनेछैन, भोजपुरमा देशमा अजम्बर जस्ता प्रखर, कर्मठ युवा, योद्धाहरु नभएको भए पञ्चायत र राजतन्त्रको आयु केही दशक लामो हुनेथ्यो होला, अहिले सामाजिक न्यायको क्षेत्रमा, विकासको पाटोमा जे उपलब्धि प्राप्त भएको छ त्यो पाउन केही समय पर्खनुपर्थ्यो होला ।
राजनीतिको यथार्थ गहिरोसँग नबुझ्नेहरुले र विपक्षीहरुले अजम्वरलाई राजनितिक स्थिरता नभएको, दल फेरिरहने भनेर एक मात्र टिप्पणी गरेको आरोप लगाएको पाइन्छ । यो यसै पनि खुशीको कुरा हो, विपक्षीहरुले अजम्वरमाथि एउटा मात्र आरोप लाउन सके, तर हामीले र जनताले विपक्षी माथि सत्यमा आधारित आरोप लाउने हो भने दर्जनौं छन् ।
जहाँसम्म अजम्वरले दल फेरिरहने टिप्पणी र आरोप छ । यो त अजम्बरको खोट नभएर सत्य र न्यायप्रतिको हुटहुटी हो । सत्य र न्यायको लागि गरिएको विद्रोह हो । जब पार्टीले पनि सही मुद्दा छाड्छन् । सही निर्णय गर्दैन भन्ने लाग्छ भने ठूलो पार्टीबाट प्राप्त हुने अवसरको लोभ छाडेर भए नि अघि बढ्नुपर्छ भन्ने निस्वार्थ चेतले डोर्याएको कर्म हो । यसमा छलफल हुनसक्ला पार्टीले त्यस्तो गरेको थिएन, वा पार्टीभित्रै संघर्ष गर्नुपर्थ्यो भन्ने, तर अजम्बरको बिद्रोह अवसरको खोजी, स्वार्थको खोजी थिएन ।
सुरुमा अजम्बरले महाकाली सन्धिमा राष्ट्रघात भयो भनेर विद्रोह गर्नु भो । यो स्वार्थको लागि थिएन, दोस्रोपटक पार्टीले पहिचानको मुद्दा छाड्यो भने बिद्रोह गर्नुभयो यो पनि अवसरको लागि थिएन । तेस्रोपटक अशोक राइले नेतृत्व गर्नुभएको पार्टी गैरकम्युनिष्ट, क्षेत्रीय सङ्कर्णतावादी पार्टीमा विलय भएपछी बिद्रोह गर्नुभयो यो पनि केही पाउनको लागि थिएन ।
अजम्बर राई विद्रोह र उर्जाको नाम मात्र होइन । अनुभव र ज्ञानसहितको उर्जा हो । उहाँमा राजनीतिकसहित बहुविषयमा गहिरो अध्ययन ज्ञान छ । कानुन विषय औपचारिक रुपमै अध्ययन गर्नु भएकोले ऐन कानुनको राम्रो ज्ञान छ । बहुविषयमा डिग्री पूरा गर्नु भएको छ । उहिले उहिले कबिता गीत पनि सिर्जना गर्नुहुन्थ्यो । जनसेवाप्रतिको चाह र सकृयताको एक मात्र उदाहरण त भुकम्पको लागि लौ न केही गह्रौं अभियान एक्लै चलाएर देश बिदेशबाट सहयोग जुटाएर पीडित भोजपुरेहरुलाई राहत पुराउनुभो । ती जनता अहिले गुन तिर्ने भनेर फागुन २१ पर्खेर बसेका छन् ।
समग्र वा निष्कर्षमा अजम्बर कसी लाउनु नपर्ने अकबरी सुन जस्तै छ्न् । तर अहिलेसम्म अजम्बरले कुनै पनि निर्वाचित जनप्रतिनिधि भएर वा राजकीय जिम्मेवारी लिएर भोजपुर र भोजपुरका लागि, देश र जनताका लागि सेवा गर्ने, केही गर्ने अवसर प्राप्त गर्नुभएको छैन । यो हाम्रो लागि घाटा हो भने एक हिसावले उहाँमाथि अन्याय पनि हो ।
माथि उलेखित सबै कुरा र कारणले यो पटक तारा चिन्हमा छाप हानी, मतदान गरि अजम्वर काङमाङमालाई विजय गराउँदा भोजपुरेको जित हुनेछ । भोजपुरे जनता विवेकी रहेछन् भन्ने प्रमाणित हुनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।