लोड हुँदैछ...

मेनु

धरानको खानेपानी अब गोप्य हुँदैन : कार्यवाहक अध्यक्ष बेघा

धरानको खानेपानी अब गोप्य हुँदैन : कार्यवाहक अध्यक्ष बेघा

धरान । धरान खानेपानी व्यवस्थापन बोर्डका गतिविधिहरू अब गोप्य नरहने कार्यवाहक अध्यक्ष अइन्द्रविक्रम बेघाले स्पष्ट पारेका छन् ।

धरान उपमहानगरपालिकाको कार्यवाहक मेयरको रूपमा पद बहाली गरेपछि बिहीबार खानेपानी व्यवस्थापन बोर्डको पनि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै बेघाले पारदर्शिताको नयाँ अभ्यास सुरु गर्ने घोषणा गरेका हुन् ।

बोर्ड अध्यक्षको पदभार ग्रहणपछि बेघाले भने, “धरानको पानी अब गोप्य हुँदैन । पारदर्शिता भाषणमा होइन, व्यवहारमै देखिन्छ ।” उनका अनुसार खानेपानीको स्रोत, उत्पादन, वितरण र आम्दानी–खर्चसम्बन्धी सम्पूर्ण विवरण धरानवासीका सामु सार्वजनिक गरिनेछ ।

धरानमा लामो समयदेखि खानेपानी अभावका कारण नागरिकहरू पीडित हुँदै आएका छन् । तयारी अवस्थामा रहेर पनि दैनिक ५० लाख लिटर पानी वितरण नगरिएको विषयमा नागरिकस्तरबाट गम्भीर प्रश्न उठ्दै आएको छ । यही सन्दर्भलाई उल्लेख गर्दै कार्यवाहक अध्यक्ष बेघाले तत्काल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

धरानमा कुन–कुन स्रोतबाट कति पानी उत्पादन भइरहेको छ, कहाँ–कहाँ कसरी र कति वितरण हुँदै आएको छ र त्यसबाट कति राजस्व संकलन भइरहेको छ भन्ने तथ्याङ्क छिट्टै सार्वजनिक गरिनेछ । पुराना र नयाँ बोरिङको अवस्था, क्षमता र उपयोगबारे पनि विस्तृत विवरण सङ्कलन भइरहेको उनले बताए ।

बोर्डको आम्दानी र खर्च मासिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको उल्लेख गर्दै बेघाले खानेपानी वितरणमा कुनै प्रकारको भेदभाव नहुने र कसैको दबाब वा प्रभावमा परेर पानी वितरण नगरिने स्पष्ट पारे । चैत महिनामा कति पानी आउँछ र हाल कति उत्पादन भइरहेको छ भन्ने विषय तथ्यसहित स्पष्ट भएपछि पत्रकार सम्मेलनमार्फत सबै विवरण सार्वजनिक गरिने उनको भनाइ छ । प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको डिप बोरिङ परियोजना पनि चाँडै सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

धरानका नागरिकहरूले चारकोशे जंगलमा खनिएको डिप ट्युबवेलबाट दैनिक ५० लाख लिटर पानी उत्पादन हुने तयारी हुँदाहुँदै पनि ‘बिर्को लगाएर राखिएको’ भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । सामाजिक अभियन्ता महेश श्रेष्ठले खानेपानी समस्या धरानवासीका लागि “घर–घरको मुद्दा” भएको उल्लेख गर्दै उक्त डिप ट्युबवेलबाट तत्काल पानी वितरण गर्न नागरिक समाजको टोलीसहित उपमहानगरपालिका कार्यालय पुगेर माग गरेका थिए ।

नागरिक अगुवाहरूले प्रदेश सरकारको आर्थिक सहयोगमा खनिएको उक्त डिप ट्युबवेल सञ्चालन गरी खानेपानी सहज बनाउन आग्रह गरेका हुन् । मेयर रहँदा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष रहेका हर्कराज राई साम्पाङले राजीनामा दिएर चुनावी मैदानमा उत्रिएपछि उपमेयर रहेका बेघा स्वतः बोर्ड अध्यक्ष बनेका हुन् ।

प्रदेश सरकारले डेढ वर्षअघि नै धरानको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले भूमिगत पानी उत्पादनका लागि बजेट उपलब्ध गराएको थियो । सो बजेटबाट चारकोशे जंगल क्षेत्रमा डिप ट्युबवेल खनिएको भएपनि अघिल्लो नेतृत्वले विद्युत महसुल धेरै लाग्ने भन्दै सतहको स्रोतमा जोड दिएको र भूमिगत पानी वितरण नगरेको गुनासो नागरिकहरूले गरेका छन् ।

यसैबीच, कार्यवाहक अध्यक्ष बेघाले खानेपानी बोर्डका कर्मचारीहरू अन्यत्र खटाइएको विषयमा पनि आपत्ति जनाएका छन् । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई निर्देशन दिँदै उनले खानेपानी बोर्डबाट अन्यत्र पठाइएका कर्मचारीलाई तत्काल कागजी प्रक्रिया सुरु गरी बोर्डमै फिर्ता ल्याउन आदेश दिएका छन् ।

धरानमा पुसको दोस्रो सातादेखि दिन बिराएर पालो प्रणालीमा खानेपानी वितरण हुँदै आएको छ । सुख्खायाममा खानेपानीको अभाव हुने भएकाले सर्दु जलाधारको सतह स्रोत र चारकोशे जंगलको भूमिगत स्रोत दुवैलाई व्यवस्थित र न्यायोचित ढंगले उपयोग गर्ने बेघाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds