विराटनगर । गत भदौको ‘जेनजी’ आन्दोलनपछि नेपाली राजनीतिमा वैकल्पिक शक्तिको नारा दिँदै नयाँ दलहरू खुल्ने बाढी नै आयो । निर्वाचन आयोगमा दर्ता भएका थुप्रै नयाँ दलहरूमध्ये एउटा थियो– ‘राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल’ । तर, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने यो पार्टीले आफ्नो नामअनुसारको ‘ऊर्जा’ देखाउन सकेको छैन । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये यो पार्टीले जम्मा ३ वटा क्षेत्रमा मात्रै उम्मेदवार उठाएको छ । बाँकी १६२ क्षेत्रमा पार्टीले उम्मेदवार नै नपाएको स्वयम् सोही पार्टीका नेताहरू स्वीकार गर्छन् ।
यस पार्टीको मुख्य शक्ति र आधार क्षेत्र मोरङ हो, जहाँ पार्टीका केन्द्रीय अध्यक्ष योगेन्द्र मण्डल आफैँ मोरङ क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा छन् । मण्डल तिनै व्यक्ति हुन्, जसले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ‘चापाकल’ चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रूपमा २१ हजार ८२० मत ल्याई सनसनीपूर्ण जित निकालेका थिए । त्यतिबेला उनले नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाका राजकुमार यादवजस्ता हेभीवेट उम्मेदवारहरूलाई पराजित गरेका थिए । अहिले उनै मण्डलले स्वतन्त्र पहिचान त्यागेर आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन् र पुरानै चुनाव चिन्ह ‘चापाकल’ लिएर मैदानमा उत्रिएका छन् ।
देशभर सङ्गठन विस्तार गर्ने दाबी गरे पनि पार्टीले आफ्नै गृहजिल्ला मोरङका ६ वटा क्षेत्रमध्ये ३ वटामा मात्र उम्मेदवारी दिएको छ । मोरङ क्षेत्र नम्बर २ मा मनोजकुमार राजवंशीलाई उम्मेदवार बनाइएको छ, जो अध्यक्ष मण्डलद्वारा सञ्चालित जीवन विकास सामुदायिक अस्पतालको मार्केटिङ विभागमा कार्यरत कर्मचारी हुन् । बाहिरबाट सक्षम उम्मेदवार नआएपछि मण्डलले आफ्नै कर्मचारीलाई राजीनामा दिन लगाएर चुनावी मैदानमा उतारेको चर्चा मोरङको राजनीतिक वृत्तमा व्याप्त छ । विपक्षीहरूले उनलाई ‘डमी’ उम्मेदवारको संज्ञा दिएका छन् । त्यस्तै, मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका भुवनकुमार वाग्ले पनि पूर्वमाओवादी कार्यकर्ता हुन् । नयाँ र ऊर्जावान् युवाहरूलाई समेट्ने भनिए पनि यो पार्टीमा अध्यक्ष मण्डलको व्यक्तिगत प्रभावमा रहेका व्यक्तिहरू र अन्य दलका असन्तुष्ट पुराना अनुहारहरूको मात्रै बाहुल्यता देखिएको छ ।
सीमित क्षेत्रमा मात्रै उम्मेदवारी दिनुको कारणबारे अध्यक्ष मण्डलले पार्टी गठन भएको छोटो समयलाई दोष दिएका छन् । उनी भन्छन्, ‘हामीले पार्टी दर्ता गरेर काम सुरु गरेको जम्मा दुई–अढाई महिना मात्र भएको छ । यति छोटो अवधिमा देशभरका सबै क्षेत्रमा योग्य उम्मेदवार छनोट गर्न सम्भव भएन, त्यसैले हाम्रो पकड बलियो भएका क्षेत्रमा मात्रै केन्द्रित हुने निर्णय गरेका हौँ ।’ जीवन विकास लघुवित्तका सञ्चालकसमेत रहेका मण्डलको मोरङमा बलियो व्यावसायिक सञ्जाल छ, जसलाई उनले राजनीतिक शक्तिमा बदल्ने प्रयास गरिरहेका छन् ।
मोरङ–५ मा यसपटक १ लाख १० हजार १७७ मतदाता छन् । अघिल्लोपटक स्वतन्त्र उठ्दा उनलाई एमाले र अन्य दलका असन्तुष्ट कार्यकर्ताको ठूलो साथ मिलेको थियो, तर यसपटक परिस्थिति फेरिएको छ । आफ्नै पार्टीको चिन्ह लिएर मैदानमा रहेका मण्डललाई सबै दलले आ–आफ्ना उम्मेदवार उठाएको अवस्थामा आफ्नो साख जोगाउनु चुनौतीपूर्ण देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।