ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरको दर्शन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पूर्वी नेपालको चुनावी अभियानमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरी पूजाअर्चना गरेका हुन् ।
चुनावी अभियानलाई तीव्र बनाउन पूर्वी नेपाल पुगेका शाहसँगै उनको टोलीमा रहेका अन्य प्रतिनिधिहरूले पनि पाथीभरा मन्दिरको दर्शन गरेका छन् । मन्दिर दर्शनपछि शाहले मुलुकको समृद्धि र परिवर्तनका लागि दैवी शक्तिको आशीर्वाद र जनताको साथ अपरिहार्य रहेको बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन शाहले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । यस क्षेत्रलाई यतिबेला निकै चासोका साथ हेरिएको छ, किनभने शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधा प्रतिस्पर्धा गर्दैछन् ।
हाइप्रोफाइल भिडन्त हुने निश्चित भएपछि शाह यतिबेला पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा पुगेर जनमत आफ्नो पक्षमा पार्ने कसरतमा छन् । पाथीभराको दर्शनसँगै उनले आफ्नो चुनावी अभियानलाई थप ऊर्जाका साथ अगाडि बढाउने संकेत दिएका छन् ।
झापा(५ मा एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता शाहबीचको यो प्रतिस्पर्धालाई राष्ट्रिय राजनीतिमा निकै महत्त्वका साथ हेरिएको छ । रास्वपाका कार्यकर्ताहरूले शाहको पक्षमा जनलहर बढ्दै गएको दाबी गरेका छन् भने ओलीको पकड क्षेत्र मानिने झापा(५ मा शाहको आगमनले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।