लोड हुँदैछ...

मेनु

डा.शेखरको पाँचौँ चुनावी यात्रा: अलपत्र एजेन्डा र फेरिएको जनमत नै मुख्य चुनौती

डा.शेखरको पाँचौँ चुनावी यात्रा: अलपत्र एजेन्डा र फेरिएको जनमत नै मुख्य चुनौती

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पाँचौँ पटक चुनावी मैदानमा उत्रिएका छन् । एक उपनिर्वाचन र तीन आवधिक निर्वाचन गरी चार पटक उम्मेदवार बनिसकेका कोइराला यसअघि तीन पटक विजयी भए भने २०७४ सालको निर्वाचनमा पराजित भएका थिए । यतिबेला फेरि उनी उम्मेदवार बन्दा मतदाताहरू भने उनको स्वागतमा फूलमाला लिएर मात्र बसेका छैनन्, बरु विगतका प्रतिबद्धताहरूको ‘अडिट’ गर्ने मुडमा देखिएका छन् ।

अश्वासनको भारी र रित्तो झोला
डा. कोइरालाले हरेक निर्वाचनमा मोरङ-६ का जनतालाई ठूला सपना देखाउँदै आएका छन् । तर, तीमध्ये विराटनगरलाई प्रदेशको राजधानी बनाउने बाहेक अन्य मुख्य एजेन्डाहरू अहिले पनि कागजमै सीमित छन् । विराटनगर ४ का स्थानीय कांग्रेस कार्यकर्ता लक्ष्मी अधिकारी भन्छन्, “हामी पटक-पटक आश्वासनको नाममा ठगिएका छौँ, यस पटक निःसर्त समर्थन सम्भव छैन ।” उनी जस्ता धेरै कार्यकर्ताहरू यसपटक डा. कोइरालाको सट्टा नयाँ अनुहारको खोजीमा थिए ।

विगतको निर्वाचनमा कोइरालाले सबैभन्दा बढी प्राथमिकता दिएको ‘विराटनगर रिङरोड’ को अवस्था अहिले झन् जीर्ण छ । बाढी र डुबान नियन्त्रणको मुद्दा त हरेक चुनावको ‘मसला’ मात्र बन्ने गरेको छ ।

२०७४ र २०७९ का प्रतिबद्धताहरूको तुलनात्मक अवस्था

विषय२०७४ को प्रतिबद्धता२०७९ को प्रतिबद्धतावर्तमान अवस्था
पूर्वाधारविराटनगर चक्रपथ (Ring Road) पूरा गर्ने ।सुशासन र नीतिगत सुधारमा जोड ।सडकको अवस्था पहिलेभन्दा जीर्ण ।
डुबान नियन्त्रणसिंघिया र बुढी नदी तटबन्ध निर्माण ।ढल निकास र डुबानको दीर्घकालीन समाधान ।खाकासम्म तयार नभएको, वर्षामा सधैँ डुबान ।
औद्योगिक विकासमोरङ–सुनसरी कोरिडोरको पुनरुत्थान ।युवा स्वरोजगार र सीपमूलक तालिम ।औद्योगिक मन्दी र युवा पलायन जारी ।
राजधानीविराटनगरलाई प्रदेशको राजधानी बनाउने ।क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विकास ।राजधानी बन्यो (मुख्य भूमिका प्रदेशसभाको), विमानस्थल विस्तार सुस्त ।
सुशासनसंविधान कार्यान्वयन र लोकतन्त्र ।भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता ।दलीय भागबण्डा र राजनीतिक अस्थिरताको आरोप ।

फेरिएको राजनीतिक समीकरण र आन्तरिक चुनौती
डा. कोइरालाले २०७९ को निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादी गठबन्धनको विरोध गरेका थिए । तर, पछि केन्द्रमा एमालेसँग मिलेर सरकार बनाउने खेलमा लाग्दा र पार्टीभित्रको भागबण्डामा अल्झिँदा उनका समर्थकहरू रुष्ट बनेका छन् । विशेषगरी पार्टी नेतृत्वमा पुग्न नसकेका र गगन थापासँगको शक्ति सङ्घर्षमा सम्झौता गरेका कारण पनि स्थानीय कार्यकर्ताहरूमा निराशा छाएको छ ।

यसको प्रत्यक्ष फाइदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठाउने देखिन्छ । कांग्रेसका असन्तुष्ट सयौँ कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेर डा. कोइरालासँग ‘बदला’ लिने रणनीतिमा जुटेका छन् । गरिब बस्तीका फुसका छाना र कच्ची घरहरूले कोइरालाको समाजवादलाई गिज्याइरहेको बेला यस पटकको निर्वाचन उनको लागि ‘अग्निपरीक्षा’ सावित हुने देखिन्छ ।

चुनावी नतिजाको इतिहास
डा. कोइरालाको विगतको चुनावी तथ्याङ्कले उनी बलियो उम्मेदवार भए पनि स्थिर जनमत नरहेको देखाउँछ:

  • २०६४ (उपनिर्वाचन): विजयी (विरासतको आडमा)
  • २०७० (संविधानसभा): विजयी (१५,४८६ मत)
  • २०७४ (प्रतिनिधिसभा): पराजित (३३,२६६ मत – लालबाबु पण्डितसँग ६७५ मतान्तरले)
  • २०७९ (प्रतिनिधिसभा): विजयी (३५,२१८ मत – लालबाबु पण्डितलाई १२,२८६ मतान्तरले पराजित)

२०७९ मा भारी मतान्तरले जितेका कोइरालाका लागि यसपटक सोही विरासत जोगाउन सहज छैन । एकातिर अधुरा योजनाहरूको भारी र अर्कोतिर नयाँ शक्तिको उदयले मोरङ–६ को चुनावी भिडन्त रोचक मोडमा पुगेको छ । डा. शेखर कोइरालाई यस पटक नेकपा एमालेका उम्मेदवार जो २०६४ को उपनिर्वाचनमा प्रतिस्पर्धीसमेत बनेका विनोद ढकाल, मजदुर नेताको रुपमा सुनसरी मोरङ औद्योगिक करिडोरमा लामो समय काम गरेका परिचित मजदुर नेता तथा नेकपाका उम्मेदवार ओपेन्द्रकुमार राय अमात, र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुविना आचार्यले चुनौती दिने तयारीमा छन् । मतदाताहरू अब “बाचा मात्र होइन, नतिजा चाहियो” भन्ने स्पष्ट अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds