ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रसिद्ध शक्तिपीठ मुक्कुमलुङ (पाथिभरा) को दर्शनका लागि ताप्लेजुङ पुगेका छन्।
पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा पार्टीको चुनावी प्रचारप्रसार र उम्मेदवार भेटघाटमा व्यस्त रहेका शाहले बिहीबार केही समय निकालेर माता पाथिभराको दर्शन र आशीर्वाद लिएका हुन्। झापा, इलाम र पाँचथरको व्यस्त चुनावी तालिकाका बीच उनी बिहीबार ताप्लेजुङ पुगेका हुन्।
मुक्कुमलुङको दर्शनका क्रममा उनले त्यहाँको धार्मिक एवं सांस्कृतिक महत्त्वका बारेमा जानकारी लिनुका साथै स्थानीयसँग संक्षिप्त भेटघाट समेत गरेका थिए। चुनावी दौडधुपबाट केही समय विश्राम लिँदै उनी आध्यात्मिक दर्शनका लागि त्यहाँ पुगेका हुन्।
भ्रमण तालिका अनुसार शाह शुक्रबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ। काठमाडौँ फर्केलगत्तै उनी पुनः पार्टीको चुनावी रणनीति र अन्य कार्यक्रमहरूमा व्यस्त हुने बताइएको छ। उनी राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपाका प्रभावशाली नेताका रूपमा चुनावी कमान्ड सम्हालिरहेका छन्। उनी झापा क्षेत्र नम्बर ५ बाट उठेका छन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।