विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनको लागि मंगलबार मनोनयन दर्ता गरेका बालेन शाहले झापा क्षेत्र नम्बर ५ स्थित दमकको डेरामै हजारौं शुभचिन्तकलाई भेट गरेका छन् । एकातिर नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गढ जोगाउने रणनीति बुन्दै कोर टिमका एक डेढ सय मानिस भेटिरहँदा बालेनले भने चाहना राख्ने सबैलाई बुधबार बिहानदेखि दिउँसो ४ बजेसम्म भेटघाट गरे । दमकस्थित उनको डेरा लक्की सिटौलाको घरमा बसेर उनले युवा, वृद्धदेखि केटाकेटी तथा आफ्नै पार्टी रास्वपाका झापा, मोरङ र सुनसरीका उम्मेद्वारसँग भलाकुसारी गरे ।
कतिपय मिडियाले बालेनको घरदैलो भनेर समाचार लेखेपनि बालेन मतदाताको घरमा होइन, मतदाताहरू नै उनको ‘डेरा’ मा धाइरहेका छन् । दमक–५ स्थित लक्की सटौलाको घरमा बालेनले आफ्नो चुनावी सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनी यहीँ बसेर मतदाता र शुभचिन्तकहरूसँग भेटघाट गरिरहेका छन् । बालेनलाई भेट्नेहरुको बिहानैदेखि भीड लाइन लागेको थियो ।
बुधबार दिनभरमा उनले ३ हजार बढीसँग भेटघाट गरेको सुरक्षा स्रोत बताउँछ । ‘हामी बाहिर बसेर हेरिरहेका छौं । १० मिनेटको अन्तरमा भेट्ने टोलीहरु निस्कँने र नयाँ जाने क्रम बिहानैदेखि चल्यो । बेलुका ४ बजेसम्ममा करिब ३ हजार मानिसहरू भित्र छिरेको अनुमान छ । कोही फोटो खिच्न, कोही समर्थन जनाउन त कोही बालेनको कुरा सुन्न आएका थिए,’ उक्त स्रोतले भन्यो ।
त्यसक्रममा बालेन शाहले एमाले निकट युवा संघ दमकका अध्यक्ष, उपाध्यक्ष र सचिवसहितको टोलीलाई रास्वपामा स्वागत गरेका थिए । भेट्नेहरु एमाले, काँग्रेस र नेकपाका कार्यकर्ताहरुपनि उल्लेख्य रहेको सुरक्षा स्रोतको दाबी छ । यस्तै झापा, मोरङ र सुनसरीका रास्वपाका उम्मेद्वारहरु पनि बालेनलाई भेट्न दमक पुगेका थिए । तर, भेटघाटका क्रममा बालेनले आफ्नो विषय भने धेरै राखेका थिएनन् । भेट्न आउनेहरुको कुरा नै बढी सुनेको स्रोत बताउँछ । दमकमा आफ्नो भेटघाट सकेर बालेन आज अपरान्ह ४ बजेतिर इलामतर्फ लागेका छन् । उनी भोलि ताप्लेजुङमा रहने र त्यहाँका मतदाताहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नयाँ राजनीतिक शक्ति र उम्मेदवारहरूको उदयलाई गम्भीरताका साथ लिँदै मतदाताहरूलाई सचेत गराउन थालेका छन् । दमकमा आयोजित राष्ट्रिय युवा संघको ५ नम्बर क्षेत्रीय कमिटीको पूर्ण बैठक तथा युवा भेलामा बोल्दै उनले ६४ सालको पहिलो संविधानसभा निर्वाचनमा आफूले भोगेको पराजय सम्झिएका छन् । ‘६४ सालमा पनि एकपल्ट नयाँलाई हेरौँ न त भनेर जनताले भोट दिए । तर, त्यसपछिको स्वाद यस्तो तीतो, पिरो र अमिलो भयो कि न जिब्रो पखाल्न सकिन्छ, न केही गर्न सकिन्छ,’ उनले भने । उनले ६४ देखि ७० सालसम्म देश विकासमा पछि परेको र नयाँ शक्ति भनिएकाहरूले देशलाई अन्योलमा राखेको आरोप लगाए । ६४ सालमा ओलीलाई तत्कालिन माओवादीका उम्मेद्वार विश्वदिप लिङ्देनले पराजित गरेका थिए । आफ्नो पराजय पछि ओलीले जनताले गल्ती गरेको बताएका थिए ।
उनले मतदातालाई बैंकको नोटको उदाहरण दिँदै भने, ‘बैंकले नोट छाप्दा त धितो र जमानी खोज्छ भने देश चलाउने मान्छे छान्दा चिनजान नभएको, धितो नभएको र जमानी नभएको मान्छेलाई कसरी भोट हाल्ने ? नयाँ हेर्ने नाममा चिनजान नै नभएका मान्छेलाई भोट दिएर पछुताउनु हुँदैन ।’ ओलीले बालेन र रास्वपाको लहर चलेको विषयमा आफ्ना कार्यकर्तालाई सम्झाउँने प्रयास गरेका थिए ।
त्यसक्रममा उनले झापा ५ मा आफूले गरेका विकास निर्माणका कामहरूको लामो सूची प्रस्तुत गरे । उनले दमक र आसपासका क्षेत्रमा भएका पक्की सडक, पुल र भौतिक संरचनामा एमालेको योगदान रहेको दाबी गरे । उनले प्रश्न गरे, ‘अहिले फुर्ती साथ आएका नयाँहरूले यो ठाउँको विकासका लागि अहिलेसम्म एउटा सिन्को पनि भाँचेका छन् ? ।’
त्यस्तै, ओलीले बालेनलाई लक्षित गर्दै अहिले सुकुम्वासीहरू डराइरहेको दाबी गरे । ‘हाम्रा केही सुकुम्वासी साथीहरूलाई डर लागेको छ, सुकुम्वासीका घरमा डोजर लाउने मान्छे आए रे भन्ने सुनेर । डराउनु पर्दैन, एमाले छउन्जेल कसैले तपाईंहरूको घरमा डोजर चलाउन सक्दैन ।’ उनले बालेनको नाम नलिई काठमाडौंमा सुकुम्वासी बस्ती हटाउन गरिएको प्रयासलाई यहाँको चुनावी माहोलसँग जोडेका हुन् ।













प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।