लोड हुँदैछ...

मेनु

निर्वाचन चर्चा : मोरङले परम्परागत शक्ति रोज्ला कि वैकल्पिक ?

निर्वाचन चर्चा : मोरङले परम्परागत शक्ति रोज्ला कि वैकल्पिक ?

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा चुनावी माहोल सुरु भएको छ । जेनजी आन्दोलनपछिको बदलिएको परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई स्थापित पुराना शक्ति र नयाँ वैकल्पिक दलहरूबीचको जनमत संग्रहकै रुपमा हेरिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा मंगलबार उम्मेदवारी मनोनयन भएसँगै कुल ११८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

७ लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा यसपटक कतै पुराना प्रतिस्पर्धीबीच नै प्रतिस्पर्धा हुँदैछ भने कतै नयाँ अनुहारले स्थापित नेताहरूको विरासतलाई चुनौती दिइरहेका छन् । यस्तै कतै जितको ह्याट्रिक गर्ने दाउमा उम्मेद्वार देखिएका छन् भने कतै हारको ह्याट्रिकबाट बच्ने कोशिसमा उम्मेद्वार रहेका छन् । मुख्य गरी नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारबीच नै यहाँ प्रतिस्पर्धा हुने देखिन्छ । त्यसबाहेक क्षेत्र नम्बर ५ मा जनता समाजवादी पार्टीका उम्मेद्वारले पनि कडा टक्कर दिने अवस्था छ ।

क्षेत्र नम्बर १ः नयाँ अनुहारको अग्निपरीक्षा

१ लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा १८ जना उम्मेदवार छन् । यहाँ नेपाली कांग्रेसका खड्ग फागो उम्मेद्वार बनेका छन् । मोरङ काँग्रेसका सभापति तथा पूर्वमन्त्री समेत रहेका डिकबहादुर लिम्बूले अन्तिम पटक प्रतिस्पर्धा गर्ने चाहना राखेपनि काँग्रेसको विशेष महाधिवेशन पछि नेतृत्व फेरिएसँगै सो क्षेत्रमा उम्मेद्वार पनि फेरिए । फागो काँग्रेस कोशी प्रदेशका सहमहामन्त्री हुन् भने पूर्व उर्लाबारी नगरपालिकाका प्रमुख पनि हुन् । २०७४ सालको पालिका निर्वाचनमा प्रमुख पदमा विजयी भएका फागो २०७९ सालको निर्वाचनमा भने पराजित बनेका थिए ।

सोही क्षेत्रमा नेकपा एमालेले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई उम्मेद्वार बनाएको छ । खतिवडा सोही क्षेत्रको लेटाङ नगरपालिका निवासी हुन् । उनले सो क्षेत्रबाट निरन्तर निर्वाचन लड्दै आएका छन् । २०४९ सालमा खतिवडा लेटाङ गाविसको अध्यक्ष निर्वाचित भएका थिए । २०५४ सालमा उनी पुनः दोस्रो कार्यकालका लागि लेटाङ गाविस अध्यक्षमा चुनिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी पराजित बनेपनि २०७४ सालमा विजयी बने । २०७९ सालको निर्वाचनमा काँग्रेसका उम्मेद्वार लिम्बूसँग पराजित भएका उनी पुनः जितको खोजीमा मैदानमा उत्रिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले यो क्षेत्रबाट कुलप्रसाद साम्बालाई उतारेको छ । साम्बा मोरङको जाँते निवासी साम्वा २०७४ सालको निर्वाचनमा प्रदेश सांसदमा विजयी बनेका थिए भने २०७९ सालको निर्वाचनमा सोही पदमा पराजित बनेका थिए । साम्बा सोही क्षेत्रका बासिन्दा हुन् ।

उता, रास्वपाले सो क्षेत्रमा यज्ञमणि न्यौपानेलाई प्रतिस्पर्धामा उतारेको छ । न्यौपाने सो क्षेत्रका लागि नयाँ हुन् । रास्वपाको बढ्दो लहर उनका लागि सहज हुनसक्छ भने अपरिचित हुँदा अप्ठ्यारो पर्न सक्छ । यस्तै सो क्षेत्रमा हर्क साम्पाङले श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिनलाई उम्मेद्वार बनाएको छ । पाख्रिनले काट्ने मतले पनि अरु दलको अपेक्षित नतिजामा प्रभाव पार्ने देखिन्छ ।

क्षेत्र नम्बर २ : रिजालको पुनरागमन र बगडियाको आकांक्षा

कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल यसपटक चुनावी मैदानमा फर्किएका छन् । एमालेले साविक विजेता ऋषिकेश पोखरेलको ठाउँमा रंगेलीका पूर्व मेयर दीलिप बगडियालाई उठाएर नयाँ प्रयोग गरेको छ । १७ जना उम्मेदवार रहेको यस क्षेत्रमा रास्वपाका कृष्णकुमार कार्की र नेकपाका चन्द्रवीर राईले पनि बलियो उपस्थिति देखाएका छन् । काँग्रेसका रिजाल २०७४ सालमा सोही क्षेत्रबाट विजयी बनेका थिए । रंगेलीका मेयर दिलिप बगडिया भने दोस्रो कार्यकालका लागि पालिका प्रमुखमा जितेका थिए । उनले बाँकी कार्यकालबाट राजीनामा दिँदै प्रतिनिधिसभामा जाने चाहना राखेपछि एमालेले उनलाई टिकट दिएको हो । स्थानीयस्तरमा लोकप्रिय रहेका बगडिया एमालेका केन्द्रीय सदस्य पनि हुन् ।

क्षेत्र नम्बर ३ : जित्ने दाउमा गणेश कार्की

मोरङको सबैभन्दा धेरै १ लाख ५८ हजार ५७ मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता डा. सुनिल शर्मा आफ्नो विरासत जोगाउन सक्रिय छन् । एमालेले यसपटक भानुभक्त ढकालको साटो स्थानीय इरान राईलाई मैदानमा उतारेको छ । रास्वपाका गणेश कार्की चुनावी मैदानमा छन् । तुलनात्मक रुपमा रास्वपाका उपल्लो तहका नेता कार्कीको गृहक्षेत्र समेत रहेको मोरङ ३ मा डाक्टर सुनिल शर्मा पनि लोकप्रिय छन् । सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीले डा. देवमान साम्बाहाम्फेलाई उम्मेद्वार बनाएको छ ।

क्षेत्र नम्बर ४ : मोदीलाई ‘घिमिरे’ द्वयको चुनौती

यसअघि दुईपटक लगातार जितेका नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री अमनलाल मोदी यसपटक ह्याट्रिक’ गर्ने दाउमा छन् । तर, उनलाई रोक्न कांग्रेसका गुरुराज घिमिरे र एमालेका जीवन घिमिरे चुनावी मैदानमा उत्रिएका छन् । विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका गुरुराज घिमिरे यसअघि सोही निर्वाचन क्षेत्रको प्रदेशसभा १ बाट एमाले उम्मेद्वार जयप्रकाश चौधरीसँग पराजित बनेका थिए । एमालेका केन्द्रीय सदस्य समेत रहेका जीवन घिमिरे पनि यसअघि सोही निर्वाचन क्षेत्रको प्रदेशसभा २ बाट काँग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए । उल्लेख्य चौधरी र राजवंशीहरुको बसोबास रहेको सो क्षेत्रमा मोदी बलियो दाबेदार मानिन्छ । सो क्षेत्रबाट रास्वपाले नेपाल टेलिभिजन इटहरी च्यानलका पूर्व कर्मचारी सन्तोष राजवंशीलाई उम्मेद्वार बनाएको छ ।

क्षेत्र नम्बर ५ः मण्डल भर्सेस मण्डल

२२ जना उम्मेदवार रहेको यो क्षेत्रमा गत निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर विजेता बनेका योगेन्द्र मण्डल यसपटक आफ्नै राष्ट्रिय ऊर्जाशील पार्टीबाट मैदानमा छन् । पूर्वमन्त्रीसमेत रहेका नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डल सो क्षेत्रका अर्का चर्चित उम्मेद्वार हुन् । २०७९ सालको निर्वाचनमा काँग्रेस र एमालेले उम्मेद्वारी दिएका थिएनन् । काँग्रेसले शिवकुमारलाई र एमालेले जसपाका राजकुमार यादवलाई सहयोग गर्ने औपचारिक निर्णय गरेको थियो । तर, अन्तिममा दुवै पार्टीले योगी मण्डललाई भोट दिएपछि उनले बाजी मारेका थिए । यसपटक भने एमालेले मनोज अग्रवाललाई र कांग्रेसले फुलकुमार लालवानीलाई उम्मेद्वार बनाएको छ । यस्तै रास्वपाकी आशा झा तथा जसपाबाट राजकुमार यादव पुनः चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर ६ : कोइरालालाई रोक्न चाहन्छन् ढकाल

विराटनगरको मुख्य भाग समेटिएको यस क्षेत्रमा कांग्रेस नेता डा. शेखर कोइराला र एमालेका विनोद ढकालबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नम्बर ४ बाट सरेका ढकाल कोइरालाको किल्ला भत्काउने दाउमा छन् । आन्तरिक पार्टीको बाहेक सबैजसो संसदीय निर्वाचनमा पराजय व्यहोरेका ढकाल आफ्नो पराजय श्रृंखलालाई रोक्दै बिजयी बन्न चाहन्छन् । डाक्टर शेखर पनि आफ्नो अन्तिम संसदीय निर्वाचन जित्न चाहन्छन् । ढकाल र कोइरालाको प्रतिस्पर्धा चलिरहेको सो क्षेत्रमा रास्वपाबाट रुविना आचार्य र नेकपाबाट ओपेन्द्र रायले उम्मेदवारी दिएका छन् । दुवै युवा उम्मेद्वार हुन् । मजदुर नेता हुँदै उम्मेद्वार बनेका राय आधारभूत तहका जनतामा परिचित छन् । रास्वपाकी उम्मेद्वार आचार्य भने मतदाताका लागि नयाँ हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds