लोड हुँदैछ...

मेनु

भवनको संवेदनशीलता मूल्याङ्कनका लागि इन्जिनियरहरूलाई अभिमुखीकरण

भवनको संवेदनशीलता मूल्याङ्कनका लागि इन्जिनियरहरूलाई अभिमुखीकरण

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कार्यरत इन्जिनियरहरूका लागि संरचनात्मक इन्जिनियरिङको नयाँ प्रविधि, ज्ञान, सीप र मूल्याङ्कन पद्धतिबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

नेपाल स्ट्रक्चरल इन्जिनियरिङ एसोसिएसनको सहयोगमा मनमोहन प्राविधिक विश्वविद्यालयको ‘स्कुल अफ इन्जिनियरिङ’ ले कोसी प्रदेशका विभिन्न पालिका तथा सरकारी कार्यालयमा कार्यरत सिभिल इन्जिनियरहरूका लागि यो कार्यक्रम सञ्चालन गरेको हो। अभिमुखीकरणमा विशेषगरी इँटा र ढुङ्गाबाट बनेका संरचनाहरूको नयाँ निर्माण तथा प्रबलीकरण (रेट्रोफिटिङ) सम्बन्धी आधुनिक ज्ञान र प्रविधिबारे जानकारी गराइएको छ।

विश्वविद्यालयको हात्तीमुढास्थित केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि सुरु भएको यस कार्यक्रममा कोसी प्रदेश सरकारका मन्त्रालय, कार्यालय, पालिका, इन्जिनियरिङ क्याम्पस र पेसागत रूपमा सक्रिय इन्जिनियरहरूको सहभागिता रहेको छ।

अभिमुखीकरणमा न्युजिल्यान्डको प्रसिद्ध इन्जिनियरिङ कम्पनी ‘रेसिप्रो इन्टरनेसनल’ का निर्देशक एवं संरचनात्मक इन्जिनियरिङ विज्ञ डा. जितेन्द्र बोथारा लगायतले सहजीकरण गरिरहनुभएको छ। विज्ञ सहजकर्ता डा. बोथाराले भूकम्प, आगलागी तथा अन्य प्राकृतिक विपद्का दृष्टिले नेपालका अधिकांश पुराना इँटा–ढुङ्गाका भवनहरू उच्च जोखिममा रहेको बताउनुभयो। यस्तो अवस्थामा नयाँ प्रविधि, मूल्य–मान्यता र मूल्याङ्कन पद्धतिबारे इन्जिनियरहरूलाई अद्यावधिक गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले प्रस्ट पार्नुभयो।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ सङ्कायका डिन प्रा.डा. भोला शर्मा घिमिरेले निजी तथा सार्वजनिक संरचनाहरू सबल भए मात्र इन्जिनियरहरू सफल मानिने बताउनुभयो। उहाँले सक्रिय इन्जिनियरहरू सधैँ नयाँ ज्ञान र प्रविधिबारे अपडेट हुनुपर्ने भएकाले यस्ता अभिमुखीकरण अनिवार्य रहेको उल्लेख गर्नुभयो।

नेपाल स्ट्रक्चरल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष कृष्णसिंह बस्नेतले परम्परागत प्रविधिबाट निर्माण गरिएका संरचनाहरू भूकम्पीय जोखिममा हुने भएकाले तिनलाई सुरक्षित बनाउने जिम्मेवारी दक्ष इन्जिनियरहरूको भएको बताउनुभयो। उहाँले नेपालजस्तो भूकम्पीय जोखिमयुक्त मुलुकमा भवनको संवेदनशीलता मूल्याङ्कन जनधनको सुरक्षा र व्यवस्थित सहरी विकासका लागि अति आवश्यक रहेकोमा जोड दिनुभयो। यस तालिमले स्थानीय तहमा गुणस्तरीय निर्णय लिन र इन्जिनियरहरूको प्राविधिक क्षमता बढाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका प्रमुख काजीराम कार्कीले सही प्राविधिक सीप र ज्ञानको अभावमा निर्माण गरिने संरचनाहरू प्राकृतिक नभई मानवीय विपत्तिको कारण बन्न सक्ने चेतावनी दिनुभयो। उहाँले अन्तर्राष्ट्रिय स्तरका नयाँ प्रविधिहरूलाई नेपाली सन्दर्भमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो।

मनमोहन प्राविधिक विश्वविद्यालयकी डिन डा. रेखा श्रेष्ठले विश्वविद्यालयलाई अध्ययन र अनुसन्धानमा सक्रिय बनाइराख्न विज्ञहरूको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार विश्वविद्यालयले आगामी दिनमा पनि संरचनात्मक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण र सुरक्षित निर्माणसम्बन्धी तालिम तथा अनुसन्धानलाई निरन्तरता दिनेछ।

मङ्गलबारदेखि सुरु भएको यस अभिमुखीकरणमा सहभागीहरूलाई ढुङ्गा र सिमेन्टबाट निर्मित संरचनाको जोखिम पहिचान र मूल्याङ्कन गर्ने आधुनिक विधिबारे जानकारी गराइनेछ। कार्यक्रममा भवनको संरचनात्मक विशेषता, भूकम्पीय संवेदनशीलता मूल्याङ्कनका चरण, डिजाइन, निर्माण सामग्रीको भार वहन क्षमताको विश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोड र मापदण्डको प्रयोगबारे छलफल हुनेछ। साथै, जोखिमको स्तर निर्धारण गरी रेट्रोफिटिङका विकल्पहरू, स्थानीय तहका लागि प्राविधिक सिफारिस तयार गर्ने तरिका र वास्तविक भवनहरूको ‘केस स्टडी’ मार्फत व्यावहारिक अभ्यास समेत गराइनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।