लोड हुँदैछ...

मेनु

कोशीका मुख्यमन्त्री कार्कीसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, तीन दिनमा जवाफ पठाउन निर्देशन

कोशीका मुख्यमन्त्री कार्कीसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, तीन दिनमा जवाफ पठाउन निर्देशन

विराटनगर । निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण माग गरेको छ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा मुख्यमन्त्री कार्की पनि सहभागी भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै आयोगले मुख्यमन्त्री कार्कीलाई पत्र पठाएको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरू निर्वाचन प्रचारप्रसार वा मनोनयन जस्ता प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको छ।

‘प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुने कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) को उल्लंघन हुने देखिएकोले… तपाईं सहभागी हुनु भएको हो वा होइन ? स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ,’ आयोगको पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीलाई पत्र प्राप्त भएको ३ (तीन) दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा जवाफ पेश गर्न निर्देशन दिइएको छ। झापा निर्वाचन अधिकृतको कार्यालयमा भएको उक्त मनोनयन कार्यक्रममा बहालवाला मुख्यमन्त्रीको उपस्थिति कानूनविपरीत भएको भन्दै आयोगले सक्रियता देखाएको हो।

कानून अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित सो पत्र मिति २०८२ माघ ७ गते जारी गरिएको देखिन्छ। यसअघि पनि निर्वाचनका बेला सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आचारसंहिता पालना नगरेको भन्दै आयोगले सचेत गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।