दमक । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ७० प्रतिशत मत ल्याएर जित हासिल गर्ने दाबी गरेका छन् ।
कांग्रेस अझै थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाता पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख दावी गर्दै उनले खसेको मतको दुईतिहाइभन्दा बढी आफूले प्राप्त गर्ने जिकिर गरे ।
आफ्नो निर्वाचन क्षेत्र झापा ५ को कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा ओलीले विकास, रूपान्तरण र जनआधारका कारण सिंगो क्षेत्र एमालेको पक्षमा एकढिक्का रहेको बताए । अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने समय आएको भन्दै उनले जेन–जी आन्दोलनमा राजनीतिक गतिविधिभन्दा बढी आपराधिक काम भएको आरोप दोहोर्याए ।
कांग्रेस र एमाले मिल्न नदिने र देशमा विदेशी प्रभाव रोक्ने नाममा अस्थिरता सिर्जना गरिएको उनको दाबी थियो । ‘अस्थिरताको खेतीबाट देशलाई जोगाउनुपर्छ,’ ओलीले भने ।
दमकमा भएका घटनातर्फ संकेत गर्दै ओलीले नगरपालिका र बिजनेस कम्प्लेक्स किन जलाइएको भन्ने प्रश्न गरे । दमक नमूना सहरको रूपमा विकास भइरहेको अवस्थामा भ्यूटावर जलाएर आईटी हबको रूपमा विकास गर्ने सम्भावनासमेत नष्ट गरिएको उनको भनाइ थियो । देश जलाएर र जनता आतङ्कित पारेर राजनीति गर्न नहुने उनले बताए ।
ओलीले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीन नागरिकको बसोबास व्यवस्थापनबारे ज्ञान नभएको टिप्पणी गरे । विपन्न आवास कार्यक्रम र एकीकृत बस्ती विकास योजनाबाट धेरै नागरिकले घर पाएको स्मरण गर्दै उनले एमाले नेतृत्वको सरकारले व्यावहारिक समाधान दिएको दाबी गरे ।
बुधबार नै झापा ५ का युवा भेलालाई सम्बोधन गर्दै ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवार मात्रै हुने टिप्पणी गरे । बालेनसँग राष्ट्रिय स्तरको भिजन नरहेको र स्थानीय जिम्मेवारीसमेत नभएको भन्दै उनले नयाँ भन्दैमा मात्रै नेतृत्व गर्न नसक्ने दावी गरे । ‘धितो र जमानी नहुनेलाई भोट हाल्ने कुरा हुँदैन,’ उनको भनाइ थियो ।
बालेनले गरेका कामप्रति प्रश्न उठाउँदै ओलीले उनको घर अगाडिको बाटो आफूले बनाइदिएको दाबी गरे । खोला छेउको बस्ती भत्काउने, कवाडी व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरूलाई विस्थापित गर्ने जस्ता धारणा अव्यवहारिक भएको उनको भनाइ थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।