विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धालाई चासोपूर्वक हेरिएको छ । एकातिर नेपाली कांग्रेसका ‘हेभिवेट’ नेता डा. शेखर कोइराला र नेकपा एमालेका प्रभावशाली नेता विनोद ढकाल चुनावी मैदानमा छन् भने अर्कोतिर नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट साधारण जीवनशैली र सामान्य परिवारका तर विचारमा दृढता भएका मजदुर नेता ओपेन्द्रकुमार राय अमात दुई हेभिवेटसँग प्रतिस्पर्धा गर्ने आँटका साथ चुनावी तयारी अगाडि बढाएका छन् ।
बदलिएको राजनीतिक समीकरण र मतदाताको फेरिएको सोचका कारण यस पटक यस क्षेत्रमा कसले चुनावी नतिजा आफ्नो पक्षमा पार्नसक्छ अनुमान गर्न सकिने अवस्था छैन ।
कोशी प्रदेशकै एक्ला मजदुर उम्मेदवारका रूपमा उभिएका राय अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपमहासचिव हुन् । लामो समयदेखि औद्योगिक मजदुरको हकहितका लागि लड्दै आएका रायको सादगी र निम्नमध्यम वर्गीय जीवनशैलीले आम मतदातालाई आकर्षित गरिरहेको छ । सुन्दरहरैंचा, बुढीगंगा र विराटनगरका २० वटा वडा समेटिएको यस क्षेत्रमा सुनसरी–मोरङ औद्योगिक करिडोरका मजदुर र निम्नवर्गीय किसानको बाक्लो उपस्थिति छ । यही ‘वर्ग’ नै रायका लागि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने आधार हो । अरुलेजस्तो रकम खर्च गरेर चुनावी नतिजा आफ्नो पक्षमा ल्याउने सोच उनमा छैन तर जितप्रति उनी आत्मविश्वासी देखिन्छन् ।
संकटमा परम्परागत शक्ति
यसअघि यस क्षेत्रलाई आफ्नो पकड मान्दै आएका डा. शेखर कोइराला यस पटक रक्षात्मक अवस्थामा देखिन्छन् । कांग्रेसभित्रको बढ्दो अन्तरद्वन्द्व र डा.कोइरालाप्रतिको असन्तुष्टिका कारण धेरै पुराना कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
विभाजित मनोविज्ञान र कार्यकर्ताको पलायनले कोइरालाको साखमा धक्का लाग्ने देखिन्छ । यता नेकपा एमालेका विनोद ढकाललाई पनि कम चुनौती छैन । एमालेभित्रको गुटबन्दी र वर्तमान सामाजिक परिवेशमा पार्टीप्रति रहेको केही नकारात्मक धारणाका कारण आफ्नै सुरक्षित भोट जोगाउने चुनौती छ ।
चारपक्षीय भिडन्तको फाइदा कसलाई ?
यस पटक मोरङ ६ मा त्रिपक्षीय मात्र होइन, रास्वपाको समेत बलियो उपस्थितिका कारण चौपक्षीय भिडन्त हुने निश्चित छ । मत विभाजनको यही अवस्थामा ओपेन्द्र राय ‘डार्क हर्स’ का रूपमा अगाडि आउन सक्छन् । राय भन्छन्, “उहाँहरूसँग पैसा र बल होला, तर मसँग यो क्षेत्रका उपेक्षित गरिब, मजदुर, मधेसी, मुस्लिम र आदिवासीहरूको भावना छ । मलाई अन्य दल निकटका ट्रेड युनियनहरूले पनि नैतिक समर्थन दिएका छन् ।”
कार्यकर्ताको उत्साह र जनस्तरबाटै आर्थिक संकलन
रायको उम्मेदवारीलाई लिएर नेकपाका कार्यकर्ताहरूमा उत्साह देखिएको छ । माघ ६ गते उम्मेदवारी दर्ता गराएका उनलाई जिताउन केन्द्रीय सदस्य हेम कार्कीको नेतृत्वमा १००१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । चुनावी खर्चका लागि कसैको मुख नताकी पार्टी शुभचिन्तक र मजदुरहरूबाटै खर्च जुटाउने तयारी पार्टीले अगाडि बढाएको छ । बुधबारको बैठकमै नेता कार्यकर्ताहरुबाटै झण्डै २ लाख रुपैयाँ संकलन भएको थियो । यसले पार्टी कमिटीमा एकतासँगै जसरी पनि जित्नुपर्छ भन्ने भावना बलियो देखाएको छ । जसले गर्दा ओपेन्द्र उत्साहित देखिएका हुन् ।
भ्रष्टाचारमुक्त नेतृत्व र आवाजविहीनहरूको आवाज संसदमा पु¥याउने रायको संकल्पले मोरङ ६ को चुनावी नतिजा हेभिवेटहरुकै पक्षमा होला भनेर अनुमान गरिहाल्ने अवस्था छैन । यदि मजदुर र किसानको मत एकीकृत भएमा ‘हेभिवेट’ हरूका लागि ओपेन्द्र राय नपत्याएको खोलो सावित हुनसक्छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।