लोड हुँदैछ...

मेनु

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाको उम्मेद्वारी खारेजीको माग गर्दै उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाको उम्मेद्वारी खारेजीको माग गर्दै उजुरी

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दर्ता गराएका लाल विक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।

स्थानीय सत्य नारायण पण्डितले थापाविरुद्ध दाबी विरोध गर्दै उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् । उजुरीमा थापाले विद्यालयको लाखौँ रकम बक्यौता राखेको र सो रकम राफसाफ नगरेको दाबी गरिएको छ ।

उजुरीकर्ताका अनुसार थापा सञ्चालक रहेको सनमुन प्लाजा नामक फर्मले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर भवन निर्माण गरेको थियो । विद्यालयको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार उक्त फर्मले विद्यालयलाई ७४ लाख १ सय ५० रुपैयाँ तिर्न बाँकी छ ।

बक्यौता रकम नतिरेको सम्बन्धमा विद्यालय प्रशासनले सुनसरी जिल्ला अदालतमा मिति २०८२ पुस २४ गते मुद्दा दर्ता गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा विचाराधीन छ ।

थापाले विद्यालयको बक्यौता नतिरी वाणिज्य विभागमा रहेको उक्त फर्म आफ्नो नजिकको नाता पर्नेको नाममा नामसारी गरेको भए आन्तरिक राजस्व कार्यालयमा अझै थापाकै नाममा दर्ता कायम रहेको उजुरीमा दाबी गरिएको छ ।

निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १०, बुँदा नं. ४२ अनुसार बेरुजु/बक्यौता फस्र्यौट नगरेको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था रहेकाले थापाको उम्मेदवारी बदर हुनुपर्ने माग गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. २ ले उजुरी दर्ता भएको पुष्टि गरेको छ । उजुरी दर्ताको भरपाई समेत जारी भइसकेको छ । अब निर्वाचन अधिकृतले यस सम्बन्धमा छानबिन गरी थापाको उम्मेदवारी कायम रहने वा नरहनेबारे निर्णय गर्नेछ । उम्मेद्वार थापाले भने सनमुन प्लाजा अर्कैको नाममा गइसकेको बताएका छन् । निवेदक पण्डित सोही निर्वाचन क्षेत्रको स्वतन्त्र उम्मेद्वार हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।