लोड हुँदैछ...

मेनु

विराटनगर क्रिकेट : लगातार तेस्रो जितसँगै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट : लगातार तेस्रो जितसँगै सिद्धार्थ फाइनलमा

विराटनगर । विराटनगर क्रिकेट लिगमा सिद्धार्थ स्पोर्टिङ क्लब लगातार तीन खेल जित्दै फाइनलमा प्रवेश गरेको छ । बुधबार विराटनगरको मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लब र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी (विसीसीए) आ–आफ्नो खेलमा विजयी भएका हुन् ।

समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लबले लायन क्रिकेट एकेडेमीलाई ३० रनले पराजित गर्‍यो । लिगमा लगातार तीन खेल जित्दै ६ अंकका साथ सिद्धार्थ समूहको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । लगातार दुई खेल हारेको लायन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । उसका लागि फिर्दोस अन्सारीले अविजित ३७ र दिपेश कँडेलले १९ रन जोडे । बलिङतर्फ लायनका शकिव हकले ३ र गौरव कटवालले २ विकेट लिए ।

१०७ रनको लक्ष्य पछ्याएको लायन १७।३ ओभरमा ७६ रनमै समेटियो । उसका लागि शकिव हकले २६ र निरजकुमार ठाकुरले १२ रन बनाए । सिद्धार्थका निरज मुखियाले ३ विकेट लिँदा दिपेश कँडेल, फिर्दोस अन्सारी र विजय मण्डलले २–२ विकेट बाँडे । खेलको ‘प्लेयर अफ द म्याच’ फिर्दोस अन्सारी घोषित भए ।

विराटनगर क्रिकेट क्लबको अग्रता
बुधबारै भएको पहिलो खेलमा विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी (विसीसीए) ले मिल्स क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । लगातार दुई खेल जितेको विराटनगरको ४ अंक छ भने दुवै खेल हारेको मिल्स प्रतियोगिताबाट बाहिरिएको छ ।
टस हारेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । मिल्सका लागि रितिक चौधरीले १७ र अभय कुर्मीले १४ रन बनाए । बलिङमा विराटनगरका क्रितिक कामतले ३ तथा रितेश झा र कृष शर्माले २–२ विकेट लिए ।
१०४ रनको लक्ष्य पछ्याएको विराटनगरले १७।१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । टोलीको जितमा भुपाल दंगालले २५ र सागर कटवालले २१ रनको योगदान दिए । मिल्सका विधान गोश्वामी र वैभव राजले २–२ विकेट लिए । विराटनगरका सागर कटवाल खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।