विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा एक वर्ष अगाडि भएको उपनिर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रले सानदार जित निकालेको थियो । २०७९ को निर्वाचनमा ठूलो मतान्तरसहित तेस्रो भएको माओवादीले उपनिर्वाचनबाट भने नमोनाराण माझीले भारी मतान्तरसहित जीत निकालेका थिए ।
माझीले ६ हजार ९७९ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका बलराम सरदाले ५ हजार ३३३ मत र एमालेका तुलसी विश्वासले ४ हजार १५० मत पाएका थिए भने । राप्रपाका दिनेश थान्दारले ५५५ र रास्वपाका नवीनकुमार विश्वासको मत ४७५ थियो ।
गाउँपालिका उपनिर्वाचनमा माझी उम्मेदवार भएपनि संघीय सांसद अमनलाल मोदीलाई छायाँ उम्मेदवारका रुपमा लिने गरिएको थियो । मोदी पनि निर्वाचनमा आफैं उम्मेदवार भएझैं खटिएका थिए । माओवादीको कमजोर सांगठनिक आधार भएपनि मोदीकै प्रभाबका कारण सो क्षेत्रमा माओवादीका उम्मेदवार माझी विजयी भएका थिए ।
उपनिर्वाचन भएको १५ महिनापछि फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । सो क्षेत्रबाट मोदी तेस्रो पटक नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका छन् । यसअघि २०७४ र २०७९ को निर्वाचनमा मोदी सोही क्षेत्रबाट विजयी भएका थिए । उनले २०७४ मा नेपाली काँग्रेसका प्रभाबशाली नेता महेश आचार्यलाई पराजित गरेका थिए भने २०७९ मा नेकपा एमालेका विनोद ढकाललाई ।
२०७९ को निर्वाचनमा मोदी ३० हजार ६१२ मतसहित विजयी बन्दा एमालेका ढकालले २४ हजार ४६३ मत पाएका थिए । सो क्षेत्रमा राप्रपाका रवि रिजालले ७ हजार ४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटीले ५ हजार ३३३ मत पाएका थिए ।
पहिले नेपाली काँग्रेसको बलियो आधार क्षेत्र मानिने मोरङ ४ मा मोदी उम्मेदवार बनेपछि उनको प्रभाब बलियो मानिएको छ । १ लाख १९ हजार मतदाता रहेको सो क्षेत्रमा ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिकाका ५, ६ र ७ नम्बर वडा तथा विराटनगर महानगरपालिकाका १, २, ३, ८ र १० नम्बर वडा पर्दछन् ।
थारु मतदाताको बाक्लो उपस्थिति रहेको कारण सो क्षेत्रमा त्यहि समुदायका उम्मेदवार मोदी बलियो उम्मेदवारको रुपमा चिनिन्छन् । युवा उमेर तथा यसअघिको संसदमा प्रभाबकारी उपस्थिति उनको बलियो आधार हो । मतदातासँग सहजै घुलमिल हुने र सुखदुःखमा साथ दिने उनको जनशैली पनि क्षेत्रमा लोकप्रिय मानिन्छ ।
मोदीसँग चुनाबी मैदानमा यस पटक नेकपा एमालेले केन्द्रीय सदस्य जीवन घिमिरेलाई मैदानमा उतारको छ भने नेपाली काँग्रेसले महामन्त्री गुरुराज घिमिरेलाई । संयोग २०७९ को निर्वाचनमा मोदी संघीय सांसद बन्दा सो क्षेत्र अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार रहेका उनीहरु दुबै जना पराजित भएका थिए । ४(१) मा काँग्रेसका घिमिरेलाई एमालेका जयप्रकाश चौधरीले पराजित गरेका थिए भने ४(२) मा एमालेका घिमिरेलाई काँग्रेसका भीम पराजुलीले पराजित गरेका थिए ।
चौधरी १५ हजार ४५९ मतसहित विजयी बन्दा काँग्रेसका घिमिरेले १५ हजार ५८ मत पाएका थिए । ४(२) मा काँग्रेसका पराजुली ११ हजार ४७९ मतसहित विजयी बन्दा एमाललेका घिमिरेले ९ हजार ६९१ मत प्राप्त गरेका थिए । चुनाबमा माओवादी केन्द्र र काँग्रेसको गठबन्धन रहेको थियो ।
प्रदेशसभाका दुबै क्षेत्रको मत जोड्दा काँग्रेस उम्मेदवारको मत २७ हजार ५३५ थियो भने एमालेका दुबै उम्मेदवारको मत २५ हजार १५० थियो । गठबन्धनमा रहेको काँग्रेसका प्रदेशसभाका उम्मेदवारले भन्दा मोदीले संघमा ५ हजार ४६२ मत पाएका थिए । एमालेका प्रदेशसभाका दुई उम्मेदवारले पाएको मतभन्दा एमालेका संघका उम्मेदवार ढकालले ६८७ मत कम पाएका थिए ।
मोदीको व्यक्तिगत प्रभाब र थारु मतदाताको कारण उनले गठबन्धनको भन्दा धेरै मत पाएका थिए । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने क्षेत्रमा काँग्रेसले १९ हजार ५५५ मत प्राप्त गदर्दा एमालेले १८ हजार ३८६ र माओवादीले ९ हजार ७६० मत पाएको थियो ।
यो निर्वाचनमा मोदी ह्याट्रीक गर्ने दाउमा छन् भने घिमिरेद्वय प्रदेशसभामा भएको पराजयको चोटलाई संघीय सांसद जितेर मल्हम लगाउने प्रयासमा छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।