दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ को चुनावी मैदानमा उत्रिएका वरिष्ठ बालेन्द्र शाह (बालेन) ले दमकस्थित सम्पर्क कार्यालयबाट चुनाबी अभियान सुरु गरेका छन् ।
यसअघि बालेनले घरदैलो सुरु गरेको बताइएको भएपनि उनी दमक ५ स्थित लक्की सिटौलाको घरबाट बाहिर निस्किएका छैनन् । आफ्नो सम्पर्क कार्यालय बनाएको सोही घरमा बसेर उनले भेटघाट गरिरेका छन् ।
मंगलबार झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि उनी विर्तामोड पुगेका थिए । स्रोतका अनुसार उनी विर्तामोडमा कलाकार निश्चल बस्नेतको घरमा बसेका थिए । विर्तामोडमा बुधबार विहान झापा २ की रास्वपा उम्मेदवार ईन्दिरा राणलाई भेटेर दमक आएका उनले भेटघाट गरिरहेका छन् ।
बालेनलाई भेट र उनीसँग फोटो खिचाउनेहरु सिटौलाको घरमा पुगिरहेका छन् । भेटघाटका लागि प्रत्येक समूहलाई बढीमा १० मिनेटको समय छुट्याइएको बताइएको छ । भेटमा उनले खासै कुराकानी गर्ने गरेका छैनन् । उम्मेदवारी दर्तापछि पनि उनले पत्रकारसँग कुरा नगरी हिँडेका थिए भने भेला भएका समर्थकलाई पनि सम्बोधन गरेका थिएनन् ।
बालेन केही दिन झापा आसपासका पूर्वी जिल्लामा पनि जाने बताइएको छ । यद्यपी उनको आगामी चुनावी कार्यक्रमबारे कुनै सार्वजनिक जानकारी दिईएको छैन ।
बालेन सम्पर्क कार्यालय रहेको घरको आँगमा बसेर भेटघाट गरिरहेका छन् । उनलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ का उम्मेदवार गणेश कार्की पनि पुगेका थिए । विगतदेखि नै बालेनका सहयोगी रहेका कार्कीसँग मोरङ–३ केन्द्रित चुनावी अभियानबारे छलफल भएको बताइएको छ ।
बालेन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाब जित्दै आएको झापा ५ बाट उम्मेदवार रहेकोले चर्चामा छन् । सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।







प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।