लोड हुँदैछ...

मेनु

झापा ५ : श्रीमान रास्वपातिर, श्रीमती कांग्रेसतिर !

झापा ५ : श्रीमान रास्वपातिर, श्रीमती कांग्रेसतिर !

दमक । ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन्’ भन्ने उखान झापाको दमकमा एउटा जीवन्त र पारिवारिक उदाहरण बनेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनले दमक नगरपालिकाकी उपप्रमुख (उपमेयर) रेगिना भट्टराईको घरभित्र राजनीतिक विभाजनको रेखा कोरिदिएको छ । एउटै भान्छामा पाकेको खाना खाने दम्पती अहिले राजनीतिक रूपमा दुई फरक किनारमा उभिएका छन् ।

लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका र एमालेबाट कांग्रेस प्रवेश गरेका प्रकाश प्रसाईंले निर्वाचनको मुखैमा अप्रत्याशित रूपमा पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसको साधारण सदस्यता समेत त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को झण्डा समातेका हुन् । मंगलबार काठमाडौँका मेयर बालेन्द्र शाह ९बालेन० लाई साथमा लिएर रास्वपा उम्मेदवारको मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुगेका प्रसाईंको यो कदमले दमकको राजनीतिमा निकै चर्चा पाएको छ ।

मनोनयन दर्ताका क्रममा प्रसाईंले ठूलो स्वरमा भने, ‘कांग्रेसबाट देश अघि बढ्न सक्दैन, अब मेरो यात्रा पदका लागि होइन, परिवर्तनका लागि हो ।’ उनले झापा–५ मा कहिल्यै नजित्ने कांग्रेससँग बस्नुको औचित्य नरहेको तर्क समेत गरे । यद्यपि, स्रोतका अनुसार श्रीमतीलाई गठबन्धनको बलमा उपमेयर जिताएका प्रसाईं आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट मेयरको टिकट पाउने आशामा यो निर्णयमा पुगेका हुन् ।

श्रीमान् ुक्रान्तिु र ुपरिवर्तनुको नारा लगाउँदै रास्वपा रोजिरहँदा श्रीमती एवं उपमेयर रेगिना भट्टराई भने धर्मसंकटमा परेकी छिन् । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी रेगिनालाई एकातिर पद र पार्टीको मर्यादा जोगाउनुपर्ने बाध्यता छ भने अर्कोतिर आफ्नै श्रीमानको विद्रोही कदम ।

श्रीमानले रास्वपाको झण्डा बोकेको केही समयपछि रेगिना भने कांग्रेसकी उम्मेदवार मन्दरा पौडेल चिमरियालाई डोर्‍याउँदै निर्वाचन कार्यालय पुगिन् । मनोनयन दर्ताका क्रममा उनको अनुहारमा राजनीतिक उत्साहभन्दा पारिवारिक खिन्नता प्रष्ट देखिन्थ्यो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमेयर रेगिनाले आफ्नो पीडा पोखिन् । उनले भनिन्, ‘मैले उनलाई धेरै सम्झाएँ, बुझाउने कोसिस गरेँ । तर उहाँले मेरो कुरा सुन्नु भएन्।’

एउटै घरबाट सुरु भएको यो दुई फरक राजनीतिक यात्राले फागुन २१ को उपनिर्वाचनमा कस्तो असर पार्छ, त्यो त परिणामले देखाउला, तर यसले दमकको राजनीतिक र सामाजिक वृत्तमा भने नयाँ बहस सिर्जना गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।