विराटनगर । राजनीतिमा कहिलेकाहीँ यस्ता दृश्य देखिन्छन्, जसले फिल्मी पटकथाको झझल्को दिन्छन् । आउँदो निर्वाचनका लागि उम्मेदवार चयनको रस्साकस्सी चलिरहँदा मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा एउटा यस्तै ‘हाइ–भोल्टेज ड्रामा’ देखियो, जहाँ मुख्यमन्त्रीको निम्तोमा आएका सभामुख दिनभर एउटा राजीनामा कुरेर बसे, तर त्यो राजीनामा नै आएन ।
घटनाको सुरुवात मुख्यमन्त्री हिकमत कार्कीको एउटा फोनबाट भयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टलाई फोन गरेर हतार–हतार कार्यालय आउन आग्रह गरे । झापास्थित आफ्नै घरमा रहेका विष्टलाई मुख्यमन्त्रीले दिएको सूचना थियो— ‘रेवती रमण भण्डारी राजीनामा दिन आउँदै छन्, तुरुन्त आउनुपर्छ ।’
प्रदेश सभा सदस्यले प्रतिनिधिसभामा उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने कानुनी प्रावधान छ । निवर्तमान आन्तरिक मामिला मन्त्रीसमेत रहेका भण्डारी सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिने तयारीमा रहेको चर्चाबीच सभामुख विष्ट हतार–हतार विराटनगर आइपुगे । उनलाई लागेको थियो, भण्डारी राजीनामा बोकेर ढोकामै आइपुगेका छन् ।
सभामुख विष्ट दिनभरि कार्यालयमै फाइल कुरेर बसे । बाहिर चर्चा थियो— भण्डारी अब संघीय संसदको यात्रा तय गर्दैछन् । तर, समय घर्किँदै गयो, न भण्डारी कार्यालय देखिए न त उनको राजीनामा नै आयो । अन्त्यमा धैर्यताको बाँध टुटेपछि सभामुख विष्ट आफैंले भण्डारीलाई फोन गरे । फोनमा भण्डारीको मधुरो जवाफ आयो— ‘मलाई त पार्टीले टिकट नै दिएन, अब राजीनामा दिएर के गर्नु ?’
सुनसरी–२ को राजनीति पछिल्ला केही दिन ‘म्युजिकल चेयर’ जस्तै बन्यो । सुरुमा भण्डारीको नाम चर्चामा आयो, त्यसपछि जगदीश कुसियतको चर्चा चल्यो र फेरि भण्डारीकै नाम अन्तिम भएको हल्ला फैलियो । मंगलबार बिहानसम्म पनि पार्टीले भण्डारीसँग नागरिकताको फोटो मागेको थियो, जसले उनी उम्मेदवार बन्ने लगभग निश्चित देखिएको थियो ।
तर, एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग असहमति राखेका कारण भण्डारी अन्तिम समयमा ‘ओलीको नेगेटिभ सूची’को शिकार भएको चर्चा एमालेभित्रै सुरु भएको छ । भण्डारीलाई रोकेर एमालेले युवा संघ कोशीका संयोजक सुजन लामालाई टिकट दियो । रोचक त के छ भने, टिकट पाएका लामा यसअघि पार्टीको इटहरी नगर अध्यक्ष र महाधिवेशन प्रतिनिधि जस्ता आन्तरिक चुनावमै पराजित भएका व्यक्ति हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।