काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूविरुद्ध आज उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले तय गरेको ुपहिलो हुने निर्वाचित हुनेु (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरिएको हो ।
आयोगका अनुसार आज दर्ता भएका उजुरीहरूमाथि जाँचबुझ गरी यही माघ ८ गते बेलुका ५ बजेभित्र निर्णय गरिने र सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । माघ ९ गते नै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्ममा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता कार्यक्रम उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार हालसम्म देशभरबाट कुल २ हजार ९२५ जनाको उम्मेदवारी परेको छ ।
दर्ता भएका उम्मेदवारहरूमध्ये महिलाको संख्या ३ सय ३६ र पुरुषको संख्या २ हजार ५ सय ८९ रहेको छ । समावेशीतातर्फ ८५ जना अपाङ्गता भएका व्यक्ति र १ सय ३८ जना पिछडिएको क्षेत्रका उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गराएका छन् ।
यसपटक स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेख्य देखिएको छ । आयोगको तथ्याङ्क अनुसार कुल १ हजार १८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्, जसमा १६० जना महिला र १ हजार २४ जना पुरुष रहेका छन् । आयोगले निर्वाचनका बाँकी प्रक्रियाहरूलाई कार्यतालिका अनुसार नै अगाडि बढाउने जानकारी दिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।