लोड हुँदैछ...

मेनु

बालेन शाहलाई झापामै ‘गोली ठोक्ने’ र ‘पिट्ने’ धम्की, भिडियाेकाे वास्तविकता के हाे ?

बालेन शाहलाई झापामै ‘गोली ठोक्ने’ र ‘पिट्ने’ धम्की, भिडियाेकाे वास्तविकता के हाे ?

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभाका उम्मेद्वार बालेन शाहविरुद्ध भौतिक आक्रमण गर्ने र ज्यान लिनेसम्मको धम्की दिइएको एक अडियो संवाद सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा मंगलबार बिहान ६:३८ बजे अपलाेड भएको उक्त अडियोमा केही व्यक्तिहरूले शाह झापा आएको खण्डमा उनलाई गोली हान्ने र कुटपिट गर्ने योजना बुनेको सुनिन्छ ।

अडियोमा एक व्यक्तिले निकै आक्रामक शैलीमा भनेका छन्, “झापामै गोली ठोक्ने वातावरण बनाउनुपर्छ” । उनले अगाडि थपेका छन्, “जहाँबाट गए पनि झापामै गोल ठोक्ने” भन्दै शाहको ज्यान लिने आशय व्यक्त गरेका छन् ।

संवादमा सहभागी अर्का व्यक्तिले मेयर शाहलाई झापामा छिर्न नदिने र भौतिक आक्रमण गर्ने आश्वासन दिँदै भनेका छन्, “त्यसले पिटाई खान्छ, ढुक्क हुनु” । उनले शाह झापा आएको खण्डमा बाटो छेक्ने र कुटपिट गर्ने तयारी भइरहेको दाबी गरेका छन् ।

अडियोमा नेकपा (एमाले) र त्यसका भ्रातृ संगठनहरूको नाम समेत मुछिएको छ । एक वक्ताले भनेका छन्, “एमालेले ठूलो शक्ति प्रयोग गर्नुपर्छ, साम-दाम-दण्ड-भेद भन्छ, त्यो गर्नैपर्छ” । आक्रमणको तयारीका लागि विभिन्न संगठनहरू परिचालन गरिएको दाबी गर्दै उनले भनेका छन्, “अगाडि पङ्क्तिमा युथ फोर्स, त्यसपछि भोलेन्टियर फोर्स र त्यसभन्दा पछाडि अनेरास्ववियु गरी तीन लेयर (तह) को तयारी छ” ।

हिंसात्मक धम्कीको क्रम यतिमै रोकिँदैन । मेयर शाहलाई अपमानित गर्ने उद्देश्यले अडियोमा भनिएको छ, “कालो मोसो दलेर खेद्नुपर्छ” । संवादमा सहभागीहरूले ‘लुसिफर’ भनी सम्बोधन गरिएका शाहलाई झापामा कुनै पनि हालतमा सफल हुन नदिने र उनी विरुद्ध कडा भौतिक कारबाही गर्ने सहमति गरेको सुनिन्छ ।

संवादको अन्त्यतिर पुरानो राजनीतिक शक्ति र नयाँ उदाउँदै गरेका शक्तिहरूबीचको टकरावलाई लिएर टिप्पणी गरिएको छ । एक व्यक्तिले भनेका छन्, “पुरानोले देश खतम बनाएका थिए, नयाँले त झन् देशै नरहने बनाउने भए”, त्यसैले बालेन जस्ता व्यक्तिहरूलाई रोक्न हिंसात्मक बाटो रोज्नुपर्ने तर्क उनीहरूले गरेका छन् ।

धम्की दिइएको यो अडियोले सुरक्षा चुनौती बढाएको छ । यसबारे सम्बन्धित निकाय र प्रहरीले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि त्यसबारे साेधिखाेजी सुरू भएकाे सुरक्षास्राेत बताउँछ । झापा निर्वाचन क्षेत्र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भावी प्रधानमन्त्रीकाे उम्मेदवार बन्दै बालेन रास्वपाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

हेर्नुहाेस् भिडियाे

https://www.facebook.com/share/v/14Vz3MK4WC6

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds