विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाब लड्ने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भब्य जुलुससहित मंगलबार आफ्नो उम्मेदवारी दर्ता गरे ।
झापा क्षेत्र नं. ५ को दमक किरातचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु अगाडि चोकबाट बालेन गाडी चढेर हात हल्लाउँदै उम्मेदवारी दर्ता गर्न पुगेका थिए । उनको अघिपछि समर्थकको ठूलो भिड देखिएको थियो भने सडकका किनारमा पनि उनलाई ‘हेर्न’ भेला भएकाहरु देखिन्थे ।
उनी जुलुसहित निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा राप्रपाका लक्ष्मी संग्रौलाले उम्मेदवारी दर्ता गराइसकेका थिए । उनले आचारसंहिता विपरित बालेनले जुलुस निकालेको भन्दै निर्वाचन कर्मचारीसँग आपत्ती जनाउँदै थिए । ‘हामीलाई जुलुल तथा बाजागाजा लिएर नआउनु भनेकोले २५ जना मात्र आयौं, उनीहरुलाई चै आचारसंहिता लाग्दैन ? के तरिका हो’ संग्रौलाले आक्रोश व्यक्त गरेका थिए ।
भब्य भिडसहित उम्मेदवारी दर्ता गर्न तोकिएको समयभन्दा ४५ मिनेटपछि ११ः४५ मा निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेनको व्यवस्थापकीय पाटो भने कमजोर देखियो । त्यहिकारण ‘भावी प्रधानमन्त्री’का अगाडि सारिएका उनको उम्मेदवारी दर्ता गर्न करिब डेढ घन्टा समय लाग्यो ।
उम्मेदवारी दर्ता प्रक्रियामा देखिएको अव्यवस्थाले टेलिभिजनको चर्चित हाँस्य शृङ्खला ‘भद्रगोल’लाई नै बिर्साउने काम ग¥यो । संयोग बालेनको अघिपछि त्यहि श्रृंखलाका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ थिए । बालेनलाई उनै पाँडेले अगुवाइ गरेर निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउँदा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता पछिपछि मात्र थिए ।
बालेनले रास्वपाका स्थानीय कार्यकर्तासँग कुनै संयोजन नगरेको कारण उनको उम्मेदवारी दर्ता प्रक्रियामा निर्वाचन कार्यालयका कर्मचारीहरु पनि दिक्क मानिरहेका थिए । बालेन त्यहाँ पुग्दा न उम्मेदवारी दर्ता फारम भरिएको थियो, न स्वघोषणा फारम । उनको सम्पत्ती विवरण पनि थिएन भने समर्थक र प्रस्तावकको पनि टुंगो थिएन ।
निर्वाचन अधिकृतको कार्यालयको हलमा कहिले अगाडिको कुर्सीमा र कहिले पछाडिको कुर्सीमा सरेर बसिरहेका थिए । उनले पत्रकारले प्रश्न गर्र्दा पनि कुनै जवाफ दिएनन् भने रास्वपाका कार्यकर्तासँग पनि खासै कुराकानी गरेको देखिएन । उम्मेदवारी दर्ताको लागि आवश्यक फारम भर्न अघिल्लो दिन नै रास्वपाका कार्यकर्ताले लगेका थिए । तर, बालेनसँग समन्वय नहुँदा ती कुनै पनि फारम भरिएको थिएन ।
रास्वपाका कार्यकर्ताहरुले निर्वाचत अधिकृतको कार्यालयका कर्मचारीलाई ‘तपाईहरु नै मिलाएर भरिदिनु न, उहाँले हस्ताक्षर गर्नुहुन्छ’ भने । कर्मचारीले ‘आफैंले भर्नुुपर्छ, हामीले मिल्दैन’ भन्ने जवाफ दिए । त्यपछि बालेनलाई निर्वाचन अधिकृतको कार्यालयभित्रै रहेको कोठाभित्र लगियो । उनको साथमा रहेका कलाकार पाँडे अगाडि पछाडि गरिरहेका थिए । उनको उम्मेदवारी दर्ता पनि ‘भद्रगोल’ नै थियो ।
मनोनयन दर्ताका लागि आवश्यक पर्ने आधारभूत तयारीसमेत नगरी बालेनको टोली कार्यालय पुग्दा निर्वाचन कर्मचारी हैरान भएका थिए । बालेनको टोलीका सदस्यले फारम लिएर भर्ने प्रयास गरे । तर, उनीहरुमा अलमल देखियो । त्यसपछि उनीहरुले अधिवक्तासमेत रहेका मोरङ क्षेत्र नं. १ का रास्वपाका उम्मेदवार यज्ञमणी न्पौपानेलाई बोलाए ।
न्यौपानले यसअघि झापा ५ बाटै चुनाब लड्ने भन्दै तयारी गरेका थिए । तर, बालेन आएपछि उनी मोरङ १ को उम्मेदवार बनेका हुन् । आफ्नो उम्मेदवारी दर्ताको तयारीमा उर्लाबारीमा रहेका न्यौपाने हतार–हतार बालेनलाई सहयोग गर्न दमक पुगे ।
न्यौपानेले आवश्यक फारम सबै भरिदिए । त्यस क्रममा कोठाभित्र रहेका बालेनलाई श्रीमतीको नाम के हो भनेर भित्र गएर एक जनाले सोध्थे । बाहिर आएर सविना काफ्ले भन्दै सुनाउँथे । न्यौपानेले फारममा त्यहि लेख्थे । बाबुको नामदेखि जन्ममिति र अन्य विवरण पनि त्यसरी नै भरियो ।
कागजात तयार भएपछि न्यौपाने आफ्नो उम्मेदवारी दर्ता गर्न भन्दै हिँडे । त्यसपछि कर्मचारीले बालेनका सहयोगीसँग धरौटीको लागि आवश्यक पर्ने रकम मागे । धरौटीको लागि १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने थियो । त्यसपछि उनका सहयोगी उनी बसेको कोठामा छिरे । तर, रकमको व्यवस्थापन भएन । सायद बालेन र उनका सहयोगीसँग १० हजार रुपैयाँ नगद थिएन ।
धरौटी नबुझाई दर्ता नहुने भएपछि अन्तिममा प्रहरीमार्फत गेट बाहिर रहेका व्यक्तिबाट पैसा मगाइएको थियो । बाहिर ‘भावी प्रधानमन्त्री’ भन्दै नारा लागिरहँदा भित्रको अव्यवस्थापनले रास्वपाका कार्यकर्ता पनि हैरान देखिन्थे । मंगलबार मात्रै नेपाली काँग्रेसको दमक नगर सभापति त्यागेर रास्वपामा प्रवेश गरेका प्रकाश प्रसाईले रास्वपाका कार्यकर्तामा व्यवहारिकक ज्ञान नभएको र बालेनसँग समन्वय नभएकोले यस्तो अवस्था आएको बताउँदै थिए ।
उम्मेदवारी दर्ताको सामान्य प्रक्रिया पनि मिलाउन नसक्नेबाट देखको नेतृत्व कसरी होला भनेर कर्मचारी र सुरक्षाकर्मीबीच पनि कानेखुसी तथा मजाक चलिरहेको थियो । सबै प्रक्रिया पुरा गरेपछि बालेन करिब डेढ घण्टापछि निर्वाचन कार्यालयबाट बाहिर आए । उनको ढिलाईको कारण निर्वाचन आयोगले एमालेलाई दिएको उम्मेदवारी दर्ताको समय पनि गुज्रिएको थियो ।
बाहिर निस्कने क्रममा पत्रकारले बालेनलाई उम्मेदवारीबारे प्रश्न गरे । तर, उनी कुनै जवाफ नदिए निस्किए । चोकमा भेला भएका समर्थकलाई उनलले उम्मेदवारी दर्तापछि सम्बोधन गर्ने रास्वपा कार्यकर्ताहरुले बताएका थिए । तर, उनले सम्बोधन पनि गरेनन् ।
किनकि उनी चोक पुग्नु अगाडि एमाले र रास्वपाका कार्यकर्ताको सामान्य झडप भइसकेको थियो । एमालेका उम्मेदवार ओलीसँग कार्यकर्र्ताहरु मनोनयन दर्ताको लागि जाने क्रममा रास्वपाका कार्यकर्ताले गालीगलौज गरेका थिए ।
एमालेका कार्यकर्ताले भोट केमा भन्दा रास्वपाका कार्यकर्ताले घण्टीमा भन्दै नारा लगाए । त्यसपछि उनीहरुले मासुभाते भन्न थालेपछि एमालेका कार्यकर्ताले रास्वपाका कार्यकर्ता लखेटेका थिए । तर, दुबै पक्ष तत्काल संयमित भएको कारण ठूलो दुर्घटना हुन पाएन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।