विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका (नेकपा)बाट झापा क्षेत्र नं. ५ को उम्मेदवार भएका रञ्जित तामाङले दुई अतिवादविरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै तामाङले आफू क्षेत्रको स्थानीय वासिन्दा र युवाको भावना अनुसारको उम्मेदवार भएको दावी गरे ।
तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रहिसकेका तामाङ पहिलो पटक चुनाबी मैदानमा उत्रिएका हुन् । सो क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनाबी मैदानमा छन् ।
अघिल्लो निर्वाचनमा नै आफू उम्मेदवारको रुपमा अगाडि बढ्न चाहेको भएपनि गठबन्धनको कारण रोकिएको बताउँदै उनले अहिलेको निर्वाचन स्वभाविक नभई विशिष्ट र संकटपूर्ण समयमा भइरहेको टिप्पणी गरे ।
अहिले देशमा दुई किसिमका अतिवाद (एक्ट्रीमिज्म) देखिएको टिप्पणी गर्दै तामाङले एउटा पक्षले देशलाई दुर्घटनातर्फ धकेलेको र अर्को पक्ष संकटको समयमा मूकदर्शक बनेर उभिएको बताए । ‘संकटमा धकेल्ने र संकटको बेलामा खुट्टा नटेक्ने नउभिने दुवै अतिवादको विकल्पको रूपमा स्थानीयता र राजनीतिक आन्दोलनको अनुभवका आधारमा म नै यहाँको विकल्प हुँ,’ उनले भने।
तामाङले राजनीतिक स्थिरता र वर्तमान संकटको निकासका लागि आगामी प्रतिनिधि सभाको पहिलो बैठकबाटै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए।
२०४६ पछिका सबै जनप्रतिनिधि र सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र शासकीय प्रणालीमा व्यापक सुधार ल्याउनुपर्नेमा उनको जोड छ ।
राज्यको शासन प्रणाली सही नहुँदा तमाम क्षेत्रमा विकृति र विसङ्गति बढेको उल्लेख गर्दै उनले ती सबैको रूपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको तामाङको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।