लोड हुँदैछ...

मेनु

मोरङ ५ मा २२ जनाको उम्मेदवारी, पुराना अनुहारदेखि नयाँ दलसम्म मैदानमा

मोरङ ५ मा २२ जनाको उम्मेदवारी, पुराना अनुहारदेखि नयाँ दलसम्म मैदानमा

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ५ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।

आइतबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र गरी कुल २२ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।

यस क्षेत्रमा यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका योगेन्द्र मण्डलले यसपटक आफ्नै नेतृत्वको नयाँ दलबाट उम्मेदवारी दिएका छन् । उनले राष्ट्रिय ऊर्जाशील पार्टी गठन गरी सोही पार्टीको तर्फबाट दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, प्रमुख सत्तारुढ र प्रतिपक्षी दलहरूले पनि आफ्ना प्रभावशाली उम्मेदवारहरू मैदानमा उतारेका छन् । नेपाली कांग्रेसका तर्फबाट फुलकुमार लालवानी, नेकपा (एमाले) बाट मनोज अग्रवाल, र नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकुमार यादव पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशा झालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुमोद रायले मनोनयन दर्ता गराएका छन् ।

दलीय उम्मेदवारबाहेक यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको पनि बाक्लो उपस्थिति देखिएको छ । स्वतन्त्रबाट अमर कुमार यादव, मो. रेजा हुसैन, विकास श्रेष्ठ, र ममता यादव लगायतले उम्मेदवारी दिएका छन् । २१ जनाको उम्मेदवारीसँगै मोरङ ५ मा बहुकोणीय र रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको नामावली प्रकाशन र दाबी विरोधको प्रक्रिया अगाडि बढाउने जनाएको छ । फागुन २१ को निर्वाचनलाई लक्षित गरी जिल्लामा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds