विराटनगर । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ४ मा उम्मेदवारीका विषयमा देखिएको विवाद सुल्झाउँदै उम्मेदवार परिवर्तन गरेको छ। नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेको केही घण्टामै टिकट पाएका अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गर्दै एमालेले पुनः जगदीश कुसियैतलाई नै मैदानमा उतार्ने निर्णय गरेको हो।
एमाले सुनसरीका जिल्ला अध्यक्ष पर्शुराम यादवका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्सारीलाई दिइएको टिकट रद्द गरी निर्वाचन आयोगमा जानकारी पठाइने बताए । अध्यक्ष ओलीसँगको कुराकानी उद्धृत गर्दै यादवले भने, ‘अध्यक्ष कमरेडले फोन गरेर कुसियैत कमरेड नै ४ मा उठ्ने र अन्सारीको टिकट रद्द गरिदिने जानकारी दिनुभएको छ।’
अन्सारी आइतबार मात्रै अध्यक्ष ओलीको हातबाट खादा लगाएर एमाले प्रवेश गरेका थिए। पार्टी प्रवेशलगत्तै उनले क्षेत्र नम्बर ४ को टिकट पाएपछि एमालेभित्र तीव्र असन्तुष्टि चुलिएको थियो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार हुँदा २४६ मत मात्र पाएका अन्सारी पछिल्लो समय नेपाली कांग्रेसमा आबद्ध थिए।
अन्सारीलाई ४ मा टिकट दिएपछि यसअघि त्यहाँका उम्मेदवार जगदीश कुसियैतलाई क्षेत्र नम्बर २ मा पठाउने तयारी गरिएको थियो। तर, क्षेत्र नम्बर २ मा यसअघि नै प्रदेश मन्त्री तथा दोस्रो संविधानसभा सदस्य रेवतीरमण भण्डारीको नाम टुंगो लागिसकेको थियो। कुसियैतलाई आफ्नो क्षेत्रमा पठाउने निर्णयप्रति भण्डारी पक्ष रुष्ट बनेको थियो।
एमालेको पछिल्लो निर्णयसँगै अब क्षेत्र नम्बर २ मा भण्डारी नै आधिकारिक उम्मेदवार हुने जिल्ला अध्यक्ष यादवले स्पष्ट परे ।
यससँगै सुनसरी ४ मा पुनः २०७९ सालकै प्रतिस्पर्धीहरूबीच रोचक भिडन्त हुने भएको छ। नेकपा एमालेका जगदीश कुसियैत र नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कार्कीले कुसियैतलाई मात्र ११२ मतको झिनो अन्तरले पराजित गरेका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।