विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि (मंगलबार) उम्मेदवारी दर्ता हुँदैछ । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरूले तयारी पूरा गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी मणीराम पोखरेलका अनुसार उम्मेदवारी मनोनयनका लागि सबै क्षेत्रमा तयारी अवस्थामा रहेको र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
मोरङको क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय उर्लाबारी नगरपालिकाको कार्यालयमा मनोनयन दर्ता हुनेछ । त्यसैगरी क्षेत्र नम्बर २ को रतुवामाईस्थित विश्वनाथ मन्दिर, क्षेत्र नम्बर ३ को बेलबारी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय, क्षेत्र नम्बर ४ को विराटनगर–१, त्रिवेणी चोकमा रहेको बाल उद्यान, क्षेत्र नम्बर ५ को विराटनगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय र क्षेत्र नम्बर ६ को विराटनगरको देवकोटा चोकस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मनोनयन दर्ताको लागि स्थान तोकिएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आवश्यक सुरक्षा प्रबन्ध र जनशक्तिको व्यवस्थापन गरिसकेको जनाएको छ । मोरङका यी ६ वटा केन्द्रमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गर्नेछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।