विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि शुक्रबार उम्मेदवारहरूको मनोनयन दर्ता गरिँदैछ। झापामा यसपटकको निर्वाचन निकै रोचक हुने देखिएको छ । प्रधामन्त्री घोष्णा गरेका दुई नेताहरू एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गर्दैछन्। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बालेन शाहले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे मनोनयन दर्ता गर्ने गरी समय मिलाइएको छ।
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा भिडभाड कम गर्न र सुरक्षा व्यवस्था सहज बनाउन राजनीतिक दलहरूका लागि छुट्टाछुट्टै समय तोकिएको छ। जसअनुसार बिहान १० बजे हर्क साम्पाङको श्रम संस्कृति पार्टी, साढे १० बजे मंगोल नेशनल अर्गनाइजेशन, ११ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ११:३० बजे नेपाल मजदुर किसान पार्टीले मनोनयन दर्ता गर्नेछन्। त्यस्तै, दिउँसो १२:३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, १ बजे नेकपा एमाले, साढे १ बजे नेपाली कम्युनिष्ट पार्टी (नेकपा), २ बजे नेपाली काँग्रेस, २ः३० बजे नेपाल सद्भावना पार्टी र ३ बजे जनता समाजवादी पार्टी (जसपा)का लागि समय निर्धारण गरिएको छ। केहि स्वतन्त्र उम्मेदवारहरू पनि हुने भएकाले समय केहि तलमाथि हुन सक्ने प्रजिअ गेलालले बताए ।
उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन प्रशासनले कडा नियम समेत बनाएको छ । मनोनयन दर्ताका क्रममा मुख्य गेटसम्म बढीमा २५ जनाको संख्यामा मात्रै जान पाइनेछ भने कार्यालयको गेटभित्र बढीमा १० जनालाई मात्रै प्रवेश अनुमति दिइने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।