लोड हुँदैछ...

मेनु

कोशी प्रदेशका २८ क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

कोशी प्रदेशका २८ क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि कोशी प्रदेशका २८ वटै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार टुंगो लगाएको हो ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका बाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले प्राविधिक कारणले केही निर्वाचन क्षेत्रको उम्मेदवार भने हेरफेर हुनसक्ने बताएको छ । मोरङ ६, झापा १, सुनसरी ३ लगायतको क्षेत्रमा हेरफेर हुनसक्ने बताइएको छ ।

नेपाली कम्युनिस्ट पार्टीबाट दुई जना पालिका अध्यक्ष प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । सो पार्टीले इलाम १ बाट रणबहादुर राई र सोलुखुम्बुबाट असीम राईलाई उम्मेदवार बनाएको छ । राई इलामको सूर्योदय नगरपालिकाका मेयर हुन् भने असिम थुलुङ् दुधकोशी गाउँपालिकाका अध्यक्ष हुन् । दुबै जना दोस्रो कार्यकालको लागि पालिका प्रमुख भएका थिए ।

नेकपाले झापा १ मा अशेष घिमिरे, २ मा धर्मशिला चापागाईँ, ३ मा हंशराज राजवंशी, झापा ४ मा पुरुषोत्तम चुडाल (राजु) र ५ मा रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । यसैगरि, मोरङ १ बाट कुलप्रसाद साम्बा, २ बाट चन्द्रबीर राई, ३ बाट देवेन्द्र सम्बाहाम्फे, ४ बाट अमनलाल मोदी, ५ बाट शिवकुमार मण्डल र ६ बाट ओपेन्द्र राय उम्मेदवार बनाएको छ । उनीहरुमध्ये मोदी निवर्तमान सांसद हुन् ।

नेकपाले धनकुटाबाट धर्मप्रसाद पौडेल, सङ्खुवासभाबाट सरिता खड्का, भोजपुरबाट अजम्मर काङ्माङ्ग राई र खोटाङबाट हरि रोक्कालाई उम्मेदवार बनाएको छ । यस्तै, उदयपुर १ बाट बलदेव चौधरी र २ बाट सुरेशकुमार राईलाई उम्मेदवार बनाएको नेकपाले ताप्लेजुङबाट खेलप्रसाद बुडाक्षेत्री र पाँचथरबाट हर्कबहादुर नेम्बाङ्ग मिक्सो उम्मेदवार भएका छन् । इलाम २ मा नेकपाले ओमबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

नेकपाले सुनसरी १ बाट सुर्यबहादुर भट्टराई (मनोज), २ बाट रामकुमारी चौधरी, ३ बाट दुर्गेश चाैधरी र ४ बाट महफुज अन्सारीललाई उम्मेदवार बनाउने भएको छ । तेह्रथुममा रणध्वज कन्दंवा र ओखलढुंगामा रामकुमार कार्की उम्मेदवार बनेका छन् ।

केन्द्रले टुंगो लगाएका उम्मेदवारमध्ये कतिपय क्षेत्रमा हेरफेर हुनसक्ने संभावना रहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds