विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा निर्वाचन प्रहरीको छनौट प्रक्रिया आजबाट सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको हाता बाहिर आज बिहान ७ बजेदेखि आवेदन दिएकाहरूको प्रारम्भिक छनौट सुरु गरिएको हो ।
मोरङका लागि कूल ४ हजार ३ सय ८३ जना म्यादी प्रहरीको कोटा निर्धारण गरिएको छ । तर, यस पदका लागि आवेदन दिनेहरूको संख्या भने कोटाभन्दा धेरै अर्थात् ७ हजार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिनन्दन चौधरीले जानकारी दिए ।
दुई सिफ्टमा छनौट प्रक्रिया
बढ्दो भिडभाडलाई व्यवस्थित गर्न प्रहरीले छनौट प्रक्रियालाई दुई सिफ्टमा विभाजन गरेको छ । डीएसपी चौधरीका अनुसार आज पहिलो दिन दर्ता नम्बर १ देखि १६ सय ५० सम्मका आवेदकहरूको परीक्षा लिइँदैछ ।
पहिलो सिफ्ट (बिहान ७ देखि ११ बजेसम्म) दर्ता नम्बर १ देखि ७५० सम्मका आवेदकहरू सहभागी भएका छन् । दोस्रो सिफ्ट दिउँसो १२ देखि ५ बजेसम्म० दर्ता नम्बर ७५१ देखि १६ सय ५० सम्मका आवेदकहरूको छनौट गरिँदैछ ।
पहिलो दिन १६ सय ५० जनाको परीक्षा सम्पन्न भएपछि बाँकी रहेका आवेदकहरूलाई क्रमशः दर्ता नम्बरका आधारमा आउँदो दिनहरूमा छनौट प्रक्रियामा सामेल गराइने मोरङ प्रहरीले जनाएको छ । निर्वाचनलाई निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन ठूलो संख्यामा निर्वाचन प्रहरी परिचालन गर्ने तयारी स्वरूप यो छनौट प्रक्रिया अघि बढाइएको हो ।









प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।