लोड हुँदैछ...

मेनु

पहेंलपुर तोरीबारीमा लाहीको सास्ती

पहेंलपुर तोरीबारीमा लाहीको सास्ती

विराटनगर । मोरङको उर्लाबारी–२ डुम्रे पुग्दा यतिबेला तोरीबारीहरू पहेंलपुर देखिन्छन् । प्रकृतिले रङ्ग भरेझैं देखिने यी मनमोहक दृश्यहरूले जोकोहीको मन लोभ्याउँछ । तर, बाहिरबाट हेर्दा जति आकर्षक र सुन्दर देखिन्छन्, ती पहेँला फूलहरूभित्र किसानको पीडा र छटपटी उति नै गहिरो गरी लुकेको छ ।

व्यावसायिक रूपमा करिब १ बिघाभन्दा बढी क्षेत्रफलमा तोरी खेती गरेका स्थानीय किसान गोपाल श्रेष्ठ यतिबेला निकै तनावमा छन् । कारण हो– तोरीमा लागेको ‘लाही’ किराको भयानक प्रकोप । विगतका वर्षहरूमा पनि तोरी लगाउँदै आएका श्रेष्ठले यसपटक जस्तो सास्ती कहिल्यै भोग्नुपरेको थिएन ।

तोरी भर्खर फूल खेल्दैछ, पाक्न त धेरै बाँकी छ तर लाहीले सबै सखाप पार्न लागिसक्यो,’ काँधमा विषादीको ट्याङ्की बोकेर बारीमा भेटिएका श्रेष्ठले भने, ‘किरा मार्न विषादी छर्किएको यो तेस्रो पटक हो, तर अझै नियन्त्रणमा आउन सकेको छैन ।’

श्रेष्ठका अनुसार एकपटक विषादी हालेपछि किरा एक–दुई दिन मर्छन्, तर फेरि उत्तिकै संख्यामा देखा पर्छन् । लाही किराले तोरीको फूल र डाँठको रस सबै चुसेर बोट नै मारिदिने भएपछि उनी बाली जोगाउनकै लागि एक–एक हप्ताको अन्तरालमा कडा विषादी प्रयोग गर्न बाध्य छन् । लगातार विषादी प्रयोग गर्दा खेतीको लागत मूल्य आकाशिएको छ, तर उत्पादन भने घट्ने निश्चित प्रायः देख्दा उनी झनै चिन्तित छन् ।

उर्लाबारी क्षेत्रका अधिकांश किसान यतिबेला यही समस्याबाट गुज्रिरहेका छन् । तर, विडम्बना के छ भने, बालीमा महामारी जस्तै किराको प्रकोप फैलिँदा पनि सम्बन्धित निकायका कृषि प्राविधिकहरू किसानको खेतसम्म आइपुगेका छैनन् । प्रभावकारी विषादी र प्राविधिक सल्लाहको अभावमा किसानहरू आफ्नै तवरले अन्तिम प्रयासस्वरूप बाली जोगाउने संघर्षमा होमिएका छन् ।

कृषि विकास निर्देशनालय कोशीका वरिष्ठ कृषि विज्ञ प्रकाश मराशैनीका अनुसार मौसम परिवर्तनको समय भएकाले तोरीमा लाहीको समस्या देखिएको हो । ‘लाही दुई प्रकारका हुन्छन्, तोरीमा देखिएको पहेँलो लाही हो,’ मराशैनीले भने, ‘अहिले सबैतिर यो समस्या देखिएको छ, यसको नियन्त्रणका लागि विषादीको प्रयोग आवश्यक हुन्छ ।’

कोशी प्रदेशमा तोरी खेतीको अवस्था हेर्दा आर्थिक वर्ष २०८१/ ८२ मा ३५ हजार ३२.७५ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ । यसबाट ४४ हजार ८३२.२६ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको मराशैनीले जानकारी दिए । यद्यपि, लाही किराको बढ्दो प्रकोप र समयमै प्राविधिक सहयोगको अभावले गर्दा लक्ष्य अनुसारको उत्पादन हुनेमा किसानहरू भने संसकित छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।