काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीले ठूलो संख्यामा उच्च प्रहरी अधिकारीहरूको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको हो ।
निर्वाचनको समयमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन र जिल्लाको कमान्ड हेरफेर गर्न प्रधान कार्यालयले यो कदम चालेको बुझिएको छ । राजनीतिक र सुरक्षाका दृष्टिकोणले ‘हटस्पट’ मानिने झापा जिल्लाको कमान्ड एसपी बसुन्धरा खड्कालाई सुम्पिएको छ । उनी यसअघि बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत थिइन् । झापामा कमान्ड सम्हाल्ने उनी पहिलो महिला एसपीसमेत हुन् ।
त्यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा गौतम मिश्रको सरुवा भएको छ । उनी यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत थिए । ललितपुरका वर्तमान प्रहरी प्रमुख चक्रराज जोशीलाई भने नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ ।
सरुवा हुने एसपीहरूको सूचीमा अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई र गजुसिद्धी बज्राचार्य लगायत रहेका छन् । उनीहरूलाई विभिन्न जिल्ला र विभागहरूमा पठाइएको छ ।
प्रहरी प्रधान कार्यालयले एसपीसँगै ८ जना डीआईजीहरूको पनि सरुवा गरी महत्वपूर्ण जिम्मेवारी तोकेको छ । निर्वाचनको पूर्वसन्ध्यामा भएको यो व्यापक हेरफेरलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।