विराटनगर । कोशी प्रदेशसभाका २ जना सदस्य प्रतिनिधिसभाको आगामी उम्मेदवार बन्ने निश्चित भएको छ ।
प्रदेशसभा सदस्य रहेका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी सुनसरी २ बाट उम्मेदवार बन्ने भएका छन् । उनलाई नेकपा एमालेले उम्मेदवार बनाउने भएको हो ।
भण्डारीलाई आफूलाई उम्मेदवारको रुपमा अगाडि बढ्न भनिएको स्वीकार गरेका छन् । केन्द्रबाट भण्डारीको नाममा उम्मेदवारीको टिकट बोकेर पार्टीका प्रदेश संयोजक शेरधन राई आउँदै गरेको एमाले स्रोतले जनाएको छ । प्रदेससभाको उम्मेदवार बन्ने भएपछि उनले सोमबार पदबाट राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
यसैगरी प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री भक्तिप्रसाद सिटौला पनि प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् । झापा क्षेत्र नं. ४ (२) बाट प्रदेशसभामा निर्वाचित राप्रपाका सांसद सिटौलाले उम्मेदवार बन्ने भएपछि आइतबार नै प्रदेशसभामा राजीनामा बुझाइसकेका छन् ।
सिटौलाले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । उनले आफ्ना स्वकीय सचिव प्रवीण रिमालमार्फत सभामुखलाई राजीनामा बुझाएका हुन् । उनीहरुबाहेक प्रदेशसभाका सदस्यहरु पनि प्रतिनिधिसभा निर्वाचनको आकांक्षी छन् ।
काँग्रेसबाट प्रदेश सांसद रहेका मोरङका अमृत अर्याल र केदार कार्की तथा खोटाङका भुपेन्द्र राईले प्रतिनिधिसभा चुनाब लड्ने इच्छा देखाएका छन् । यद्यपी काँग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन । उनीहरुमध्ये अर्याललाई मोरङ क्षेत्र नंं. ५ बाट काँग्रेसले उम्मेदवार बनाउने संभावना रहेको स्रोतले जनाएको छ । उनी गगन थापाको नेतृत्वमा बनेको काँग्रेसको केन्द्रीय समिति सदस्य हुुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।