विराटनगर । २०७९ को स्थानीय निर्वाचन जितेर धरान उपमहानगरको प्रमुख भएका हर्क साम्पाङले प्रतिनिधिसभा निर्वाचनको लागि पदबाट राजीनमा दिएका छन् ।
साम्पाङ नगर प्रमुख भएपछि उनको कार्यशैलीको कारण अधिकांश समय अन्य जनप्रतिनिधिसँग उनको लफडा रहेकोमा हार्दिक बिदार्ई भएको छ ।
प्रतिनिधिसभा निर्वाचन लड्न लागेका काठमाडौंका प्रमुख बालेन्द्र शाहले महानगर नपुगी राजीनामा पठाएका थिए । उनलाई विदाई गर्न र शुभकामना दिन तयारीमा बसेका काठमाडौंका जनप्रतिनिधि र कर्मचारीहरुलाई शाहले भेट गर्न पनि आवश्यक ठानेनन् । साम्पाङ भने कार्यपालिका बैठक बोलाएर विदा भए ।
स्वतन्त्र उम्मेदवारी दिएर उपमहानगर प्रमुख चुनाव जितेका साम्पाङ श्रम संस्कृति पार्टी गठन गरेर अध्यक्ष बनेका छन् । उनले सोही पार्टीबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाटै उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
उपमहानगरमा ४६ महिना बिताएका मेयर साम्पाङलाई आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघासहित जनप्रतिनिधिले खादा लगाएर मायाँको चिनोसहित विदा गरेका थिए । त्यसअघि साम्पाङले वेघालाई राजीनामा बुझाएका थिए । । उनले सबैलाई आभार प्रकट गरे ।
साम्पाङ प्रमुख भएर आएपछि उनको सबैभन्दा धेरै लफडा वडा नं. १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई मनोजसँग भयो । साम्पाङको कार्यशैलीविरुद्ध खरो रुपमा उत्रने उनले अन्य जनप्रतिनिधिको पनि अगुवाइ गरेका थिए । उनै भट्टराईले पनि आइतबार नै पदबाट राजीनामा दिएका छन् ।
भट्टराईलाई नेपाली कम्युनिष्ट पार्टीले सुनसरी १ बाटै उम्मेदवार बनाएको छ । उनी अब साम्पाङसँगै चुनाबी मैदानमा उत्रनेछन् । उपमहानगरबाट विदा हुँदैगर्दा साम्पाङ र भट्टराई एकअर्कालाई शुभकामना पनि दिएका थिए । धरानकै राम्रोका लागि काम गरिरहेको भन्दै उनीहरुले एकअर्कालाई शुभकामना दिएका थिए ।
‘हाम्रो कार्यकाल रमाइलै थियो, काम गर्ने क्रममा अलि कडाकडै भइयो होला। कहिलेकाहीँ छुचो पनि भएँ होला’ साम्पाङले भने, ‘मैले धरानकै राम्रोका लागि गरेको ठानेर चित्त नदुखाइदिनुहोला ।’ उनले अब अर्को भूमिकाबाट सेवामा आउने बताए ।
स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका साम्पाङ श्रम अभियानको कारण चर्चित रहे । उनले श्रमदानबाट खानेपानी, पार्क निर्माण जस्ता कार्यक्रम गरे । श्रम अभियान र त्यसमार्फत् धरानमा उपलब्ध खानेपानी ठूलो उपलब्धि भएको उनको भनाइ छ ।
साम्पाङको राजीनामासँगै धरानको कार्यबहाक नगर प्रमुखको जिम्मेवारी उपप्रमुुख बेघाको काँधमा आएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।