विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ। पार्टीको पछिल्लो निर्णयअनुसार झापाका पाँचमध्ये चार क्षेत्रमा उम्मेदवारहरूको चयन प्रक्रिया पूरा भएको हो।
राप्रपाका अनुसार झापा क्षेत्र नम्बर १ मा नरेन्द्र खड्का, क्षेत्र नम्बर ३ मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, क्षेत्र नम्बर ४ मा भक्ति सिटौला र क्षेत्र नम्बर ५ मा लक्ष्मी संग्रौलालाई उम्मेदवार बनाउने निश्चित भएको छ। क्षेत्र नम्बर ४ का उम्मेदवार सिटौला हाल कोशी प्रदेश सभाका सदस्य समेत हुन्।
झापा क्षेत्र नम्बर २ को हकमा भने उम्मेदवारको नाम अझै सार्वजनिक गरिएको छैन। सो क्षेत्रमा स्वागत नेपालको उम्मेदवारी रहने प्रवल सम्भावना रहेको र यसबारे भोलि बस्ने पार्टीको बैठकले अन्तिम निर्णय लिने दमक नगरपालिकाका मेयर एवं राप्रपा कोशी प्रदेश समितिका अध्यक्ष रामकुमार थापाले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।