काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज (आइतबार) राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ।
आयोगको आइतबार बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागु गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको जनाएको छ। निर्वाचनमा हुन सक्ने फजुल खर्च नियन्त्रण गरी मितव्ययिता कायम गर्न र आचारणलाई व्यवस्थित बनाउन यो कदम चालिएको आयोगको भनाइ छ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि आगामी ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
आचारसंहिता लागु भएपछि सरकार, राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षा निकाय तथा सञ्चारमाध्यम लगायत सरोकारवाला पक्षहरूले आयोगले तोकेका नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ। आचारसंहिता उल्लंघन भएमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत आयोगले दिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।