काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो पदबाट राजीनामा दिँदै छन्। राजीनामा दिएलगत्तै उनी आजै दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन्।
रास्वपाको आजको बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम टुंगो लगाउँदै छ। उम्मेदवारको नाम सुनिश्चित भएपछि पार्टी सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रम तय भएको छ।
मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रिने भएका छन्। यो क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। बालेनको उम्मेदवारीका लागि रास्वपाले झापामा सम्पर्क कार्यालय समेत स्थापना गरिसकेको छ।
पेशाले इन्जिनियर र चर्चित र्यापरको छवि बनाएका बालेन शाह २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयरमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए। मुलुकमा चलेको जेनजी आन्दोलनपछि उनी राजनीतिक रूपमा रास्वपासँग नजिकिएका हुन्।
गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने गरी ७ बुँदे सम्झौता भएको थियो। सोही सम्झौता बमोजिम बालेनले स्थानीय सरकारको नेतृत्व छोडेर राष्ट्रिय राजनीतिको केन्द्र मानिने संसदको यात्रा तय गर्न लागेका हुन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।