लोड हुँदैछ...

मेनु

एमालेमा उम्मेदवार छनोटलाई लिएर विवाद, योगेश भट्टराईको ‘नोट अफ डिसेन्ट’, संस्थापन इतर पक्षमा असन्तुष्टि

एमालेमा उम्मेदवार छनोटलाई लिएर विवाद, योगेश भट्टराईको ‘नोट अफ डिसेन्ट’, संस्थापन इतर पक्षमा असन्तुष्टि

काठमाडौँ । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकमा आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर तीव्र मतभेद सिर्जना भएको छ। नेतृत्वले निश्चित मापदण्डविना मनोमानी ढंगले टिकट वितरण गरेको भन्दै उपमहासचिव योगेश भट्टराईले कडा असन्तुष्टि जनाएका छन्।

झण्डै ८ घण्टा लामो चलेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाउँदै भट्टराई बैठकबाट बाहिरिएका थिए। उनले यस निर्णय प्रक्रियाप्रति विमति जनाउँदै आइतबार पार्टी कार्यालयमा तीन बुँदे ‘नोट अफ डिसेन्ट’ दर्ता गराउने तयारी गरेका छन्।

ताप्लेजुङको टिकट र ११औँ महाधिवेशनको तुष
स्रोतका अनुसार, बैठकमा अध्यक्ष ओलीले योगेश भट्टराईलाई ताप्लेजुङबाट टिकट नदिने संकेत गरेपछि विवाद चर्किएको थियो। जवाफमा भट्टराईले संसदमा आफ्नो भूमिका प्रभावकारी रहेको र विगतमा राम्रो काम गर्दागर्दै चुनाव लड्नबाट वञ्चित गर्न नहुने तर्क गरेका थिए। तर, अध्यक्ष ओलीबाट सकारात्मक जवाफ नपाएको एक सचिवालय सदस्यले बताए।

असन्तुष्ट पक्षका अनुसार ११औँ महाधिवेशनमा ईश्वर पोखरेलको प्यानलबाट प्रतिस्पर्धा गरेका वा छुट्टै समूहमा देखिएका नेताहरूलाई पाखा लगाउने रणनीति नेतृत्वले लिएको देखिन्छ। योगेश भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी र झपट रावललगायतका नेताहरूप्रति अध्यक्ष ओली अनुदार देखिएको गुनासो छ। काभ्रे–२ बाट निर्वाचित हुँदै आएका गोकुल बास्कोटाको नाम पनि हालसम्म टुंगो नलाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

महत्त्वपूर्ण क्षेत्रका उम्मेदवार ‘होल्ड’ मा
सचिवालय बैठकले १६५ मध्ये धेरैजसो निर्वाचन क्षेत्रको टुंगो लगाए पनि केही रणनीतिक र विवादित क्षेत्रहरूको निर्णय अध्यक्ष ओलीको जिम्मामा छोडेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार केही सिटहरूमा चुनावी तालमेल वा रणनीतिक कारणले नाम घोषणा गर्न बाँकी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।