नेपालको समसामयिक राजनीति अहिले एउटा यस्तो कठिन र तरल मोडमा आइपुगेको छ । जहाँ पुराना सिद्धान्तहरूले मात्रै वर्तमानको जटिलतालाई व्याख्या गर्न सम्भव देखिँदैन । राजनीतिशास्त्रको लामो प्राध्यापन र अनुभवका आधारमा भन्नुपर्दा हामीले अहिलेसम्म पढेका र पढाएका कतिपय राजनीतिक मान्यताहरू अहिले व्यवहारमा खण्डित हुँदै गइरहेका छन् । हालै श्रम संस्कृति पार्टीको एउटा कार्यक्रममा सहभागी हुँदा मैले त्यहाँ जुन खालको जनउत्साह र ऊर्जा देखेँ, त्यसले नेपाली समाज भित्रभित्रै ठूलो परिवर्तनको पर्खाइमा छ भन्ने प्रष्ट संकेत गरेको छ । यसले के देखाउँछ भने अबको राजनीति व्यक्ति वा नेताको वरिपरि मात्रै घुम्ने छैन । बरु एउटा विचार र एजेन्डाको खोजीमा जनता आफैँ सडकमा निस्कन तयार छन् ।
राजनीतिशास्त्रमा हामीले थुप्रै सिद्धान्तहरू पढ्ने गर्छौँ । जसमध्ये कतिपय त केवल बन्द कोठामा बसेर गरिएका अनुसन्धानका उपज मात्रै हुन् । तर वास्तविक राजनीति सधैँ सडकको अभ्यास र समाजको घर्षणबाट उत्पन्न हुने गर्दछ । नेपालमा अहिले जुन ‘जेन्जी’ अर्थात् नयाँ पुस्ताको विद्रोह देखिएको छ । यसले राजनीतिशास्त्रमा नयाँ सिद्धान्तको माग गरेको छ । यो विद्रोह केवल नेपालमा मात्रै सीमित छैन, बरु विश्वभर नै एउटा लहरको रूपमा देखा परेको छ । केही समयअघि श्रीलङ्कामा भएको जनविद्रोह, बंगलादेशको विद्यार्थी आन्दोलन, इन्डोनेसिया र टिमोर लिस्टे जस्ता मुलुकहरूमा देखिएका परिवर्तनका लहरहरूलाई सुक्ष्म रूपमा अध्ययन गर्दा एक्काइसौँ शताब्दीका विद्रोहका केही अनौठा र नयाँ चरित्रहरू फेला पर्छन् । यी चरित्रहरूलाई बुझ्न सके मात्रै हामीले अबको नेपालको दिशा पहिल्याउन सक्छौँ ।
पहिलो कुरा त आधुनिक युगका यी राजनीतिक आन्दोलन वा विद्रोहहरू कुनै पनि राजनीतिक दलको मुख्यालयबाट तय भएर सुरु हुँदैनन् । विगतमा कुनै पनि आन्दोलन हुनका लागि पार्टीको ह्वीप, संगठनको निर्णय र नेताको निर्देशन अनिवार्य हुन्थ्यो । तर अहिलेको समयमा सामाजिक सञ्जालको माध्यमबाट युवाहरू आपसमा जोडिन्छन् र कुनै निश्चित केन्द्रको निर्देशन बिना नै सडकमा उत्रिन्छन् । यसले परम्परागत संगठनको संरचनालाई चुनौती दिएको छ । दोस्रो चरित्र भनेको यी विद्रोहहरू अत्यन्तै छोटो समयका हुन्छन् तर निकै प्रभावकारी र कतिपय अवस्थामा ध्वंसात्मक पनि हुन्छन् । लामो समयसम्म आन्दोलन तन्काउने भन्दा पनि छोटो समयमा ठूलो धक्का दिने रणनीतिमा अहिलेको पुस्ता देखिन्छ । तेस्रो र सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यो पुस्ताको विद्रोह ‘लीडरलेस’ अर्थात् नेताविहीन जस्तो देखिन्छ । कुनै एउटा अनुहारलाई अगाडि सारेर आन्दोलन गर्नुभन्दा पनि विचार र सामूहिक भावनालाई प्रधानता दिने गरिन्छ । यसले गर्दा सत्ता पक्षलाई आन्दोलन दबाउन वा नेतासँग सम्झौता गरेर आन्दोलन मत्थर पार्न कठिन भइरहेको छ । चौथो विशेषता भनेको यस्ता विद्रोहले समस्याहरूलाई त उजागर गरिदिन्छन् तर तत्कालै समाधानको पूर्ण खाका भने दिँदैनन् । यसले व्यवस्थामा रहेका बेथिति र भ्रष्टाचारलाई सडकमा ल्याएर नाङ्गो पारिदिन्छ तर त्यसपछिको निर्माणको पाटोमा भने एउटा रिक्तता देखिने गर्दछ ।
नेपालको सन्दर्भमा कुरा गर्दा अबका मतदाता कुनै पनि दलको ‘बन्धुवा मजदुर’ रहेनन् भन्ने सत्यलाई सबैले स्वीकार गर्नुपर्छ । विगतमा कतिपय निर्वाचन क्षेत्रहरूलाई कुनै निश्चित दल वा नेताको ‘गढ’ मान्ने गरिन्थ्यो । तर अब त्यो ‘गढ’ को अवधारणा पूर्ण रूपमा ध्वस्त भएको छ । जनताले अब केवल झण्डा र चुनाव चिन्हका आधारमा मात्रै मतदान गर्ने छैनन् । हिजोका दिनमा आफूलाई अत्यन्तै शक्तिशाली ठान्ने स्थापित दलहरूले पनि अबको निर्वाचनमा शून्यबाटै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नयाँ खुलेका पार्टीहरूले त शून्यबाटै सुरु गर्ने नै भए, तर पुराना दलहरूले पनि विगतको बिरासतका आधारमा मात्रै अब चुनाव जित्ने कल्पना गर्नु हुँदैन । मतदाताको मनस्थितिमा आएको यो ठूलो खलबललाई जसले सही ढङ्गले सम्बोधन गर्न सक्छ । उसैले अबको राजनीतिमा नेतृत्व गर्नेछ ।
नेपालमा युवाहरूको राजनीतिप्रतिको दृष्टिकोणमा पनि व्यापक परिवर्तन आएको छ । एउटा समय थियो जब घरमा टेलिभिजनमा समाचार आउँदा युवाहरू कोठा छोडेर बाहिर जान्थे किनभने समाचारमा केवल नेताका भाषण र राजनीतिक खिचातानी मात्रै हुन्थ्यो । तर अहिलेको पुस्ता राजनीतिक रूपमा निकै सचेत र अपडेटेड छ । उनीहरूलाई राजनीति मन नपर्न सक्छ तर राजनीतिले उनीहरूको दैनिक जीवनमा कसरी प्रभाव पारिरहेको छ भन्ने कुरामा उनीहरू जानकार छन् । सामाजिक सञ्जालमा उनीहरूले व्यक्त गर्ने प्रतिक्रिया, एनसेल काण्ड जस्ता विषयमा उनीहरूको चासो र टिकटक जस्ता माध्यममा लगाइएको प्रतिबन्ध विरुद्धको आवाजले उनीहरूको राजनीतिक सक्रियतालाई प्रष्ट पार्छ । यो पुस्ता इतिहासको पाङ्ग्र्रालाई पछाडि फर्काउन चाहँदैन । उनीहरू भविष्यतिर हेर्न चाहन्छन् । उनीहरूले अहिलेको ‘वृद्धतन्त्र’ अर्थात् शासन सत्तामा हावी भएको पुराना पुस्ताको एकाधिकारलाई विस्थापित गरेर नयाँ सोच र ऊर्जालाई ठाउँ दिन खोजिरहेका छन् ।
मुलुकको सुशासन र डेलिभरीको अवस्था अहिले अत्यन्तै दयनीय छ । राजनीतिक नेताहरूले विभिन्न सिद्धान्तका कुरा गरे पनि जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । भ्रष्टाचार र बेथिति यति गहिरोसँग जकडिएको छ कि सामान्य नागरिकले राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरू पनि सहजै पाउन सकेका छैनन् । यही कारणले गर्दा नै जनतामा चरम आक्रोश र निराशा छ । यो निराशालाई कतिपय शक्तिहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्न खोजेको पनि देखिन्छ । तर युवाहरू अब कसैको गोटी बन्न तयार छैनन् । उनीहरू आफ्नै विवेकले एउटा नयाँ बाटो खन्न चाहन्छन् ।
आजको अर्को ठूलो चुनौती भनेको ‘ब्रेन ड्रेन’ हो । नेपालका दक्ष र शिक्षित युवाहरू अवसरको अभावमा दिनप्रतिदिन विदेश पलायन भइरहेका छन् । यहाँ राम्रो शासन र अवसर नभएकै कारण उनीहरू बाहिरिएका हुन् । तर यदि हामीले मुलुकमा सही नेतृत्व र सुशासनको प्रत्याभूति गर्न सक्यौँ भने यो ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्न असम्भव छैन । विदेशमा रहेका नेपाली युवाहरूले त्यहाँ सिकेको सीप, अनुभव र उनीहरूले कमाएको पूँजीलाई नेपालको विकासमा लगाउन सक्ने वातावरण बनाउनु पर्छ । यसका लागि पहिलो शर्त भनेको राजनीतिक स्थिरता र इमान्दार नेतृत्व नै हो ।
श्रम संस्कृति पार्टी जस्ता नयाँ र उदीयमान शक्तिहरूले जनताको यो चाहना र भावनालाई बुझ्न जरुरी छ । नेपालको माटो र यहाँको परिवेशबाट जन्मिएका ‘अर्गानिक’ नेताहरूको खाँचो अहिले मुलुकलाई छ । विदेशी मोडल वा अरुको नक्कल गरेर भन्दा पनि नेपालकै मौलिक समस्याहरूको पहिचान गरी त्यसको समाधान खोज्ने नेतृत्व नै आजको आवश्यकता हो । अबको निर्वाचनमा मतदाताले परिवर्तनको पक्षमा उभिएर मतदान गर्ने निश्चित प्रायः छ । तर परिवर्तनको नाममा कतै हामीले फेरि अर्को गल्ती त गरिरहेका छैनौँ भन्ने कुरामा पनि सचेत हुन जरुरी छ ।
अन्त्यमा, राजनीति भनेको केवल सत्ता प्राप्ति मात्रै होइन । यो त समाजलाई सही दिशा दिने एउटा पवित्र माध्यम हुनुपर्छ । हाम्रा राजनीतिक दलहरू र तिनका नेताहरूले यो कुरालाई जति छिटो बुझ्छन्, त्यति नै मुलुकका लागि हित हुनेछ । अबको बाटो सजिलो छैन, तर असम्भव पनि छैन । युवाहरूको ऊर्जा, पुरानाको अनुभव र जनताको सचेतताले मात्रै नेपाललाई एउटा समृद्ध र समुन्नत राष्ट्रको रूपमा अगाडि बढाउन सक्छ । अबको मतदाता सचेत छ । उनीहरू कसैको प्रलोभनमा पर्ने छैनन् र आफ्नो भविष्यको फैसला आफैँ गर्ने सामथ्र्य राख्छन् । त्यसैले हरेक नागरिकले आफ्नो मतको महत्व बुझेर परिवर्तनका लागि तयार हुनुपर्ने बेला आएको छ । यो नै आजको राजनीतिक यथार्थ र हाम्रो साझा दायित्व पनि हो । अबको नेपाल कस्तो बनाउने भन्ने कुरा आजका युवाहरू र सचेत नागरिकहरूको हातमा छ । हामी सबैले आफ्नो तर्फबाट इमान्दार प्रयास गर्ने हो भने पक्कै पनि नेपालले एउटा नयाँ र सुनौलो बिहानी देख्न पाउनेछ ।
– राजनीतिक विश्लेषक प्राध्यापक पोखरेलले बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा व्यक्त गरेको विचार




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।