लोड हुँदैछ...

मेनु

सडक दुर्घटनामा गम्भीर घाइते क्यानडा बस्ने बालकको न्यूरोमा सफल उपचार

सडक दुर्घटनामा गम्भीर घाइते क्यानडा बस्ने बालकको न्यूरोमा सफल उपचार

विराटनगर । क्यानडाबाट नेपाल आएका उप्रेती परिवारका लागि आफन्त र बुबा–आमासँगको भेट खुसीले भरिएको थियो । झापाको दमकमा जुम्ल्याहा छोराहरूसहित केही समय बिताउने योजनासहित नेपाल आएको परिवारले कसैले नसोचेको पीडादायी क्षण सामना गर्नुपर्‍यो ।

दमकमा रहँदा जुम्ल्याहा छोरामध्ये एकको कानमा समस्या देखिएपछि अस्पताल लैजाने तयारी हुँदै गर्दा अनियन्त्रित मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते भए । एकैछिनमा परिवारको खुसी हरायो ।

गम्भीर अवस्थामा रहेका बालकलाई उप्रेती परिवारले तत्काल विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटल पुर्‍यायो । आकस्मिक कक्षमा ल्याउँदा बालकको अवस्था अत्यन्तै नाजुक थियो । बाँच्ने सम्भावना न्यून देखिएपनि वरिष्ठ न्यूरो सर्जन डा.सुनिलकुमार दासको नेतृत्वमा रहेको चिकित्सक टोलीले उपचारमा कुनै कसर बाँकी राखेन ।

आकस्मिक उपचारपछि बालकलाई न्यूरो आईसीयूमा भर्ना गरिएको थियो । त्यहाँ ३१ दिनसम्म चिकित्सक, नर्स र क्रिटिकल केयर टोलीले निरन्तर निगरानी, आधुनिक उपचार प्रविधि र समर्पित हेरचाहमार्फत बालकलाई मृत्युको मुखबाट फर्काउन सफल भए ।

दिनप्रतिदिन अवस्थामा सुधार देखिन थालेपछि परिवारमा पुनः आशाको किरण पलाएको थियो । रुँदै छोरालाई अस्पताल ल्याएको उप्रेती परिवार छोरा निको भएर अस्पतालबाट डिस्चार्ज हुने दिन रोएको छ । त्यो खुसीको आँसु थियो ।

बालककी आमाले भावुक हुँदै चिकित्सक टोलीप्रति आभार व्यक्त गरिन् । “मैले त छोरालाई जन्म मात्र दिएको थिएँ । तर, तपाईंहरूले आज उसलाई पुनर्जन्म दिनुभयो,” भन्दै उनले उपचारमा संलग्न सम्पूर्ण टोलीलाई धन्यवाद दिइन् । परिवारले अस्पताल प्रशासन र चिकित्सकहरूलाई मायाको चिनोसमेत प्रदान गरेको छ ।

यो सफल उपचारसँगै न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले फेरि एकपटक जटिल र जोखिमपूर्ण अवस्थामा रहेका बिरामीलाई जीवनदान दिन सक्ने आफ्नो क्षमता प्रमाणित गरेको छ । मानवीय संवेदना, दक्ष चिकित्सक र आधुनिक प्रविधिको समन्वयले असम्भवजस्तो देखिने अवस्थामा पनि आशाको उज्यालो ल्याउन सकिन्छ भन्ने उदाहरण यो घटनाले प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।